२०८२ जेठ २३ शुक्रबार
Jhapa Today
Adv top

बिर्तामोडमा साइकलमैत्री सडक बनाउन ज्ञापनपत्र


बिर्तामोड, जेठ २२ । बिर्तामोड नगर क्षेत्रलाई पैदलयात्रीमैत्री र साइकलमैत्री बनाउने तथा सार्वजनिक स्थान र कार्यालयहरूमा साइकल पार्किङको व्यवस्था मिलाउन नगरपालिकामा ज्ञापनपत्र बुझाइएको छ ।

झापा राइडर्स ग्रुपको तर्फबाट आज नगरप्रमुख पवित्रा महतारा प्रसाईंलाई पाँच बुँदै मागसहित ज्ञापनपत्र बुझाइएको हो । विश्व वातावरण दिवसको अवसर पारेर बिर्तामोड बजार क्षेत्रका सडक समावेशी नभएको भन्दै ज्ञापनपत्र बुझाइएको हो ।

नगर क्षेत्रका अधिकांश सडकहरू पैदलयात्री र साइकल प्रयोगकर्ताहरूका लागि सुरक्षित तथा सुविधाजनक यातायातको पहुँचमा चुनौतीपूर्ण बनिरहेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

प्रमुख तथा माध्यमिक सडकहरूमा साइकल लेन को स्पष्ट पहिचानसहित निर्माण गर्ने, नगर क्षेत्रका मुख्य सडकहरूमा पैदलयात्रीहरूका लागि सुरक्षित पदमार्ग निर्माण गर्न ग्रुपले माग गरेको छ ।

त्यस्तै, सार्वजनिकस्थलहरू, बजार क्षेत्र, विद्यालय, अस्पताल, पार्क, नगरपालिका तथा वडा कार्यालयहरुमा साइकल पार्किङस्थलहरू को निर्माण गर्न, साइकल प्रयोगलाई प्रवर्धन गर्ने कार्यक्रम (जस्तैः साइकल टु स्कुल, साइकल डे) सञ्चालन गर्न माग गरिएको छ ।

त्यस्तै, वातावरण संरक्षण र दिगो यातायात प्रणालीका लागि दीर्घकालीन ‘स्मार्ट र ग्रिन बिर्तामोड’ नीति तयार गर्न नगरपालिकासँग माग गरिएको छ ।

ज्ञापनपत्र बुझाउने कार्यक्रममा साइकल अभियन्ता आकाश श्रेष्ठ, हिमाल खरेल, मिलन शाक्य, फिरोज राई, निर्मल भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

यसैबीच, विश्व साइकल दिवसको अवसरमा राइडरहरुले साइकल सुरक्षाका लागि बिर्तामोडमा दबाबमुलक साइकल र्‍याली निकालेका छन् ।

साइकल दिवसको जेठ २० गते साँझ बिर्तामोडमा एक सयभन्दा बढी साइकल राइडरहरु भेला भएर साइकल प्रयोगकर्ताहरुको सुरक्षाको पक्षमा र्‍याली गरेका हुन् ।

स्थानीय जनाप्रतिनिधि, अन्य सडक प्रयोगकर्ता तथा चालकहरुलाई दबाब दिन र्‍याली आयोजना गरिएको हो ।

सडकमा साइकल प्रयोगकर्तालाई अन्य सवारी साधनले हेप्ने, जबरजस्ती पेल्ने तथा साइकलयात्रीहरु दुर्घटनामा पर्ने क्रम बढ्दै गएकाले दबाबस्वरुप साँझमा कार्यक्रम गरिएको हो ।

साइकल प्रयोगकर्ताहरुलाई सडक सुरक्षा, प्राथमिकता, पार्किङमा सहज व्यवस्था बनाउन र दुर्घटना न्यूनीकरण गर्न र्‍यालीले सन्देश दिने कार्यक्रमको उद्देश्य रहेको छ ।

वातावरणमैत्री र स्वास्थ्यका लागि पनि लाभदायी हुने भएकाले साइकल संस्कृतिको जगेर्ना गर्ने, प्रवर्धन गर्ने, कुदाइराख्ने वातावरण बनाउन स्थानीय तहको भूमिका खोज्न र्‍याली गरिएकोे हो ।

Adv footer