
बिर्तामोड, जेठ २३ । झापाको कमल गाउँपालिकामा कोशी प्रदेशमै पहिलोपटक स्काउटको क्याम्पोरी हुने भएको छ । प्रथम कमल क्याम्पोरीको आज उद्घाटन हुनेछ ।

कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालको प्राङ्गणमा आजदेखि तीन दिनसम्म सञ्चालन हुने प्रथम कमल क्याम्पोरीमा गाउँपालिकाका १२ विद्यालयको सहभागिता रहने कमल स्काउट वित्त आयुक्त देवराज बस्नेतले बताए ।

“स्वयम् सेवा, अनुशासन र सहकार्य: कमल स्काउटको पहिचान” भन्ने उद्घोषका साथ २ रात ३ दिनसम्म सञ्चालन हुने गाउँपालिकास्तरीय क्याम्पोरीमा ४५० जना स्काउट, ५० जना स्काउटर र करिब ५० जना अतिथिको उपस्थिति रहनेछ ।

क्याम्पोरमा सहभागी स्काउटले २२ वटा साहसिक कार्यसहित अन्य बौद्धिक प्रतियोगितामा समेत सहभागी भएर आफ्नो क्षमता प्रस्तुत गर्ने बस्नेतले जानकारी दिए ।

क्याम्पोरीमा सहभागी स्काउटले विद्यार्थीको जीवनमा ठुलो परिवर्तन ल्याउन सहयोग पुग्ने युथ फोरम, केसस्टडी, सहकार्य, अनुशासन लगायतका कुरा सिक्ने छन् ।






