
बिर्तामोड, जेठ २३ । सप्तकोशीमा विपद् उद्धार अभ्यासका क्रममा बेपत्ता भएका दुईजना सुरक्षाकर्मीमध्ये झापाका हरदेव राजवंशीको शव भेटिएको छ ।

सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी उपरीक्षक नेत्र कार्कीको नेतृत्वमा परिचालित ३५ सदस्यीय टोलीले बेपत्तामध्ये सशस्त्र प्रहरी जवान झापा गौरीगञ्ज-८, जुरोपानीका राजवंशीको शव भेटिएको हो ।

सप्तकोशी किनारमा राजवंशीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता योगराज खतिवडाले जानकारी दिए । हराइरहेका अर्का प्रहरी जवान डोटीका सुरज साउदको खोजी जारी छ ।

बिहीबार दिउँसो १५ः१० बजे नम्बर १ श्रीअन्तु गण इलाम दरबन्दी भई दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीमा कार्यरत राजवंशी र नम्बर १३ गण पर्सा दरबन्दी भई नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालयमा कार्यरत साउद कोशी नदीमा बेपत्ता भएका थिए ।
सशस्त्र प्रहरीको मधेश प्रदेश कार्यालयले बाढीपहिरोबाट विपद्मा परेकाहरूलाई उद्धार गर्नका लागि सप्तकोशीमा अभ्यास गरेको थियो ।

अभ्यासका क्रममा सप्तरीको हनुमाननगर कांकालिनी नगरपालिका– १ कोशी ब्यारेजको ५४ र ५५ नम्बरको ढोकाको उत्तरतर्फ अभ्यासका क्रममा बगेर बेपत्ता भएका हुन् ।





