
बिर्तामोड, जेठ २३ । झापाको काँकरभिट्टाबाट नक्कली नोटसहित पक्राउ परेका गणेश भारतीले झापामा कोठा भाडामा लिएर नक्कली नोट छाप्ने गरेको प्रहरीले अनुन्धानबाट पत्ता लागेको छ ।

काँकरभिट्टास्थित नेपाल बैंक अगाडिबाट प्रहरीले गत जेठ १८ गते तेह्रथुम फेदाप–५ का २८ वर्षीय भारतीलाई एक लाख नक्कली रुपैयाँसहित पक्राउ गरेको थियो ।
झापाको कनकाई–८ लक्ष्मीपुरमा कोठा भाडामा बस्दै आएका भारतीको साथबाट १ हजारका १ सय थान नक्कली नोट बरामद गरिएको थियो ।

उक्त घटनामा झापा प्रहरीले जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गर्ने क्रममा उनले नक्कली नोट आफैँले छापेर चल्तीमा ल्याएको खुलेको छ । प्रहरी निरीक्षक राजकुमार कार्की समेतको अनुसन्धान टोलीले लक्ष्मीपुरस्थित कोठामा खोजतलास गर्दा थप नक्कली नोटहरु फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार विभिन्न दरका नेपाली नक्कली (खोटा मुद्रा) ५ लाख ३० हजार ६८० रुपैयाँसहित नोट छाप्ने गरेको मेसिन, नोटमा प्रयोग हुने विभिन्न प्रकारका रंग लगायतका प्रमाणहरु बरामद गरिएको झापा प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार १ हजार दरका नक्कली (खोटा मुद्रा) ४७० थान, ५ सय दरका २८२ थान, १ सय दरका १९० थान, ५० दरका १२ थान र २० दरका ४ थान बरामद गरिएको छ ।

१ थान प्रिन्टिङ मेसिन, ३ थान मोबाइल, १ थान कैँची, नोट बनाउन प्रयोग भएको कागज कपि २ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।





