२०८२ जेठ २४ शनिबार
Jhapa Today
Adv top

बिर्तामोडका सडक धमाधम कालोपत्रे


बिर्तामोड, जेठ २३ । बिर्तामोड नगरपालिकामा सडक कालोपत्रेको काम तीव्रगतिमा अघि बढिरहेको छ । नगरपालिकाले संघ, प्रदेश र पालिकाकै बजेटमार्फत विभिन्न ठुलासाना सडक कालोपत्रे गर्दै आएको हो ।

वडा नम्बर ९ र १० मा आज र भोलि १ हजार ३६० मिटर सडक कालोपत्रे हुँदैछ । आज वडा नम्बर ९ कोलाटोलीस्थित नेत्रमार्गमा ४०० मिटर क्षेत्रमा कालोपत्रे सम्पन्न भएको छ ।

५ मिटर चौडाईको यस सडकमा ९ नम्बर वडा कार्यालयको २५ लाख र बिर्तामोड नगरपालिकाको २५ लाख गरी कुल ५० लाख रुपैयाँ बजेट विनियोजन भएको थियो ।

त्यस्तै, आज नै वडा नम्बर १० स्थित तारानाथ चोकबाट पत्थरभिट्टा जाने सडकको १०० मिटर क्षेत्रमा कालोपत्रे गरिएको छ । ६ मिटर चौडाईको यस सडकमा बिर्तामोड नगरपालिकाले १५ लाख रुपैयाँ लगानी गरेको छ ।

त्यस्तै, नम्बर १० स्थित मोहन चोकबाट–कुवापानी हुँदै लक्ष्मीनारायण आधारभूत विद्यालय जाने ८४० मिटर सडकमा भोलि कालोपत्रे हुँदैछ ।

६ मिटर चौडाईको यस सडकमा बिर्तामोड नगरपालिकाले १ करोड रुपैयाँ बजेट लगानी गरेको छ । कालोपत्रेको काम भोलि बेलुकीसम्म सम्पन्न हुने नगरपालिकाका सबइन्जिनियर डिल्ली ओलीले जानकारी दिए । यी तीनवटै सडक योजनाको पृथ्वी निर्माण सेवाले ठेक्का पाएको छ ।

कालोपत्रे योजनाको नगरप्रमुख पवित्रा महतारा प्रसाईं र नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले अनुगमन गरेका छन् । नगरप्रमुख प्रसाईंले आवश्यक मापदण्डको आधारमा गुणस्तरीय काम गर्न प्राविधिक र ठेकेदारलाई सुझाव दिए ।

Adv footer