
बिर्तामोड, जेठ २४ । झापा जिल्ला खेलकुद विकास समितिले एक कार्यक्रमका बीच प्रदेशस्तरीय छनोट खेल्ने राष्ट्रपति रनिङ शिल्डका खेलाडीलाई विदाइ गरेको छ ।

१५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि झापाका पालिकाबाट छनोट भएका ९४ जना खेलाडीलाई कोशी प्रदेशस्तरीय प्रतियोगिताका लागि विदाइ गरिएको हो ।

बिर्तामोडमा आयोजित विदाइ कार्यक्रममा झापाबाट गत फागुन २५ गते छनोट भएका ४७ छात्र र ४७ छात्रा खेलाडीको विदाइ गरिएको समितिका अध्यक्ष प्रशान्त भण्डारीले जानकारी दिए ।

भण्डारीको अध्यक्षतामा भएको विदाइ कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड उद्योग वाणिजय संघका अध्यक्ष राजु न्यौपाने, नेपाल बक्सिङ संघका केन्द्रीय उपाध्यक्ष भोजराज सिटौला, झापा गोल्डकपका अध्यक्ष केदार गिरीले खेलाडीलाई जितको शुभकामना व्यक्त गरेका थिए ।

समिति अध्यक्ष भण्डारीले औचित्यमाथि प्रकाश पार्दै विदाइ गरिएको कार्यक्रममा खेलाडीलाई खेल पोशाक र आवश्यक सामग्रीसहित विदाइ गरिएको समिति सदस्य चेतामणि खनालले बताए ।
जेठ २४, २५ र २६ गते विराटनगरमा हुने प्रदेशस्तरीय प्रतियोगितामा झापाबाट उसु, तेक्वान्दो र करातेमा ६ छात्र/६ छात्रा, भलिबल र कबड्डीमा ९ छात्र/९ छात्रा तथा एथलेटिक्समा ११ छात्र /११ छात्रा खेलाडीले भाग लिने कार्यालय प्रमुख विष्णु नेम्वाङले बताए ।