
बिर्तामोड, जेठ २४ । झापाको बिर्तामोडमा संसदीय रिपोर्टिङमा डिजिटल मिडिया र सूचनाको प्रयोगसम्बन्धी तालिम सुरु भएको छ ।

संसदीय पत्रकार मञ्च कोशी प्रदेशको आयोजनामा भएको तालिममा प्रदेशसभा सदस्य र झापाली पत्रकारबीच अन्तर सम्वाद र छलफल भएको थियो ।

कोशी प्रदेशसभा सचिवालयको सहयोगमा भएको तालिमलाई प्रमुख अतिथि सभामुख अम्बरबहादुर विष्ट, प्रदेशसभामा नेपाली कांग्रेसका प्रमुख सचेतक गोपाल तामाङ, नेपाल पत्रकार महासंघ कोशीकी उपाध्यक्ष अम्बिका भण्डारी र झापा शाखा अध्यक्ष एकराज गिरीले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा मञ्चका अध्यक्ष कुमार लुइँटेलले तालिमको औचित्यमाथि प्रस्ट पारेका थिए । उनले संसदीय अभ्यास र यसको रिपोर्टिङका विषयमा तालिम आयोजना गरिएको जानकारी गराए ।


तालिममा झापाका ३५ जना पत्रकारको सहभागिता रहेको छ भने छजना प्रदेशसभा सदस्य सहभागी छन् । तालिमको सहजीकरण मञ्चका संस्थापक अध्यक्ष विक्रम लुइँटेल, प्रदेशसभा सचिवालयका सूचना अधिकारी निरोज ढकाल र पत्रकार विवेक गौतमले गरेका थिए ।