
बिर्तामोड, जेठ २४ । झापाको बिर्तामोडमा शिक्षकको पेशागत विकास कार्यक्रम सम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ । तालिमको एक कार्यक्रमका बीच आज समापन गरिएको छ ।

बिर्तामोड नगरपालिका र काठमाडौँ विश्वविद्यालयको आयोजनामा भएको तालिम कार्यक्रम २१ औँ शताब्दीको सिकाइका लागि गणित शिक्षकहरूलाई सशक्त बनाउन गरिएको हो ।

ज्यामितीय निर्माणका लागि गणित प्याड प्रयोग गर्ने, अन्तरक्रियात्मक दृश्य हेरफेर, शिक्षण र सिकाइका लागि शैक्षिक स्रोतहरू, गणित अन्तरक्रियात्मक र गणितका लागि जिओजेब्रा एप्लेटहरूको विकासका विषयमा तालिम केन्द्रित रहेको थियो ।

बिर्तामोडको महेन्द्ररत्न मावि र रिडमोरको सहयोगमा सञ्चालित तालिममा कार्यक्रममा बिर्तामोडका ९ वटा सामुदायिक विद्यालयका ११ जना मावि तह गणित शिक्षक र १३ संस्थागत विद्यालयका १३ जना मावि तहका गणित शिक्षक गरी २४ जना गणित शिक्षकहरुको सहभागिता रहेको थियो ।

तालिममा गणित शिक्षकहरु रामचन्द्र सिटौला, सुरज मादेन लिम्बू र वेदप्रसाद लुइँटेलले सहजीकरण गरेका थिए ।
कार्यक्रम उद्घाटन बिर्तामोड नगरप्रमुख पवित्रा महतरा प्रसाईंले गरेकी थिइन् भने समापन बिर्तामोडका शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले गरेका थिए ।
काठमाडौँ विश्वविद्यालयका तर्फवाट इस्टिम डिपार्टमेन्टका प्रमुख डक्टर विनोदप्रसाद पन्तले मन्तव्य राखेका थिए ।