२०८२ जेठ २५ आइतबार
Jhapa Today
Adv top

झापालाई राष्ट्रपति रनिङ शिल्डको पहिलो दिन ४ स्वर्ण


बिर्तामोड, जेठ २५ । विराटनगरमा जारी कोशी प्रदेशस्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा झापाले पहिलो दिन चार स्वर्णसहित ६ पदक प्राप्त गरेको छ ।

झापाका एक छात्र र एक छात्राले करातेतर्फ एकएक स्वर्ण, एथलेटिक्सतर्फ छात्राको एक स्वर्ण र छात्रतर्फ एक स्वर्ण, एक रजत र एक कास्य जित्दै पदकको खाता खोलेका हुन् ।

झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारीका अनुसार करातेको काता विधामा झापाका कुसाङ लिम्बू र सञ्जु शेर्माले स्वर्ण पदक हात पारेका हुन् ।

कुसाङ दमकका हुन् भने सञ्जु शिवसताक्षीबाट छनोट भएर जिल्लास्तरीय टिममा पर्दै कोशी प्रदेशको प्रतियोगितामा प्रतिस्पर्धा गर्न पुगेको प्रशिक्षक विक्रम मेचेले बताए ।

त्यस्तै, एथलेटिक्सतर्फ १०० मिटरमा सुजन मण्डल र पुष्पावती चौधरीले स्वर्ण जितेका छन् । मोहमद शेखले कास्य जिते भने हाइजम्पमा अभिषेक अधिकारीले रजत जितेको प्रशिक्षक लोकप्रसाद ओलीले बताए ।

जेठ २४, २५ र २६ गते विराटनगरमा हुने प्रदेशस्तरीय प्रतियोगितामा जिल्लाले प्रथम स्थानको नतिजा निकाल्ने झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भण्डारीले बताए ।

झापाबाट उसु, तेक्वान्दो र करातेमा ६ छात्र/६ छात्रा, भलिबल र कबड्डीमा ९ छात्र/९ छात्रा तथा एथलेटिक्समा ११ छात्र/११ छात्रा खेलाडी सहभागी छन् ।

Adv footer