
भद्रपुर, जेठ २५ । झापाको भद्रपुरमा सामुदायिक छाडा कुकुरको बिगबिगी भएपछि स्थानीयबासी समस्यामा परेका छन् । कुकुरका कारण उनीहरु आजित बनेका छन् ।

सडक कुकुरले घरपालुवा खसी, बाख्रा र कुखुराहरू मार्ने र खाने गरेपछि कृषकहरु चिन्तित बनेका छन् । राति सडकमा एक्लै हिँडडुल गर्ने अवस्था पनि नरहेको स्थानीय बताउँछन् ।

स्थानीयले नै संरक्षण गरेका तर व्यवस्थित ढङ्गले तिनको व्यवस्थापन नगरिएका छाडा कुकुरहरूले बाँधेका खसी बाख्रा र कुखुराहरूलाई टोक्ने, मार्ने र खाने गरेको स्थानीय बताउँछन् ।

भद्रपुर ८ स्वर्णटोल निवासी मित्रप्रसाद अधिकारीको बाख्रालाई छाडा कुकुरले टोकेर घाइते बनाएको छ ।

बारीमा बाँधेको बाख्रालाई छाडा कुकुरले टोकेर भुँडी फुटाइसकेको अवस्थामा भेटेको अधिकारीले बताए । उनका अनुसार गाउँटोलमा ८ वटा खसीबाख्रा कुकुरले मारिसकेको छ ।

कुकुरको बिगबिगी स्वर्ण टोलमा मात्र होइन त्यस वरपरका कनकश्री टोल, पारिजात टोल, सुकीर्ति टोलमा पनि त्यतिकै छ ।

कुकुरहरू पाल्ने तर तिनलाई छाडा छोड्नाले खसी बाख्रा र पाठा कुखुरा मात्र होइन मानिसहरूलाई पनि टोकेर हैरान पारेको छ ।