
बिर्तामोड, जेठ २७ । झापामा निर्माणाधीन एसियन हाइवेअन्तर्गत चारवटा डाइभर्सन असारअगाडि बनिनसक्ने भएको छ । बाँकी रहेका अरु डाइभर्सन भने निर्माण सम्पन्न हुने जनाइएको छ ।

काँकरभिट्टाको काली खोलाको पुलमा ढलानका ४ भागमध्ये एक भाग सकिएको छ । बाँकी काम पूरा गर्न थप दुई महिना लाग्ने भएको छ । त्यहाँ ह्युमपाइप राखेर पानीको निकासको व्यवस्था मिलाउन लगाइएको झापाका सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंले बताए ।

त्यस्तै, भालु खोलामा असार २० गतेसम्म मात्र सबै काम सकिने भएको छ । काँकरभिट्टादेखि १० किलोमिटर पश्चिमको कल्भर्ट असार १५ सम्ममा सकिने आयोजनाले जनाएको छ ।

त्यस्तै, चारआली र बुट्टाबारीको बीचमा रहेको हात्ती अन्डरपास निर्माण हुन अझै दुई महिना लाग्ने भएको छ । त्यहाँ पनि ठुला ह्युमपाइपको व्यवस्था गर्न लगाइएको प्रसाईंले जानकारी दिए ।

गत जेठ १५ गते भत्किएर यातायात आउजाउ अवरुद्ध भएकै चारवटा डाइभर्सन यो वर्षात अगाडि निर्माण सम्पन्न हुन नसक्ने भएको हो । वर्षातमा समेत त्यही डाइभर्सनबाटै आवतजावत गर्नुपर्ने भएको छ ।

पश्चिम खण्डअन्तर्गत झापामा छवटा पुलसहित ४५ वटा कल्भर्ट रहेका छन् । जसमध्ये २६ वटाको काम सुरु भएको छ भने बाँकी १९ वटाको काम सुरु भएको छैन ।

२६ वटामध्ये मावा र रतुवा गरी दुईवटामा डाइभर्सनको काम सुरु भएको छैन । बाँकी २४ मध्ये २२ वटामा निर्माण सम्पन्न भई पुरिसकेको आयोजनाले जनाएको छ ।
गेउरियाको पुल ढलान भइसकेर १५ दिनमा खोलिने र भुत्रेको पुल ढलान भइसकेर जेठभरिमा गाडी चल्ने जनाइएको छ ।
झापामा ९ वटा अन्डरपास निर्माण हुने भएको छ । जसको काम सुरु नभएको आयोजनाले जनाएको छ ।