२०८२ जेठ २७ मंगलबार
Jhapa Today
Adv top

पानी नपर्दा उधुम गर्मी, बुधबारदेखि वर्षा हुने


बिर्तामोड, जेठ २७ । झापासहित पूर्वी तराईका धेरै ठाउँमा गर्मी अत्यधिक बढेको छ । पहाडी भेगमा पनि तापक्रम वृद्धि भएको छ । पानी नपर्दा देशभर उकुसमुकुस गर्मी बढेको हो ।

देशका कतिपय स्थानको अधिकतम तापक्रम ४० डिग्री सेल्सियसमाथि छ । झापाको तापक्रम ३७ डिग्री नाघेको छ ।गर्मीले जनजीवन कठिन बनेको छ । मानिसहरु शितल खोज्न इलाम उक्लिन थालेका छन् ।

केही दिनदेखि मनसुन कोशी प्रदेशमै अड्किएकाले देशभर मनसुनी वर्षा हुन सकेको छैन । जेठ १४ गते कोशी प्रदेशबाट मनसुन भित्रिएको थियो । तर, मनसुन देशभर फेलिएको छैन ।

गर्मी बढ्ने क्रम आज पनि जारी रहनेछ । पानी पर्न थालेपछि बुधबारदेखि तापक्रम घट्ने अनुमान छ । अब यो हप्ताभित्र मनसुन देशभर फैलिन सक्ने मौसमविद्ले बताएका छन् ।

बुधबारदेखि केही ठाउँमा हल्का पानी पर्ने र बिहीबारदेखि उल्लेख्य वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी र लुम्बिनीलगायत देशका पहाडी भूभागका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

आज राति कोशी, गण्डकी र लुम्बिनीका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेशका अधिकांश भूभागमा भने मनसुनी वायुको प्रभाव रहेको छ ।

Adv footer