
बिर्तामोड, जेठ २७ । १५ औँ राष्ट्रपति रनिङ शिल्ड राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि झापाबाट २३ जना खेलाडी छनोट भएका छन् । प्रतियोगिता जेठ २८ गतेदेखि ३० गतेसम्म काठमाडौँमा हुनेछ ।

कोशी प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट झापाका २३ जना खेलाडी छनोट भएका हुन् । कोशी प्रदेशबाट ९८ जना खेलाडीले राष्ट्रिय प्रतियोगितामा भाग लिने छन् ।

राष्ट्रिय प्रतियोगिताका लागि झापाबाट एथलेटिक्समा छजना, करातेमा छजना, भलिबलमा महिला ३, पुरुष २ जना, कबड्डीमा महिला ३ जना र पुरुष १, तेक्वान्दोका दुईजना खेलाडी छानिएका छन् ।

विराटनगरमा सम्पन्न अन्तर जिल्ला प्रदेशस्तरीय प्रतियोगितामा झापाले १६ स्वर्णसहित ४४ पदक जितेको छ । झापाले १३ रजत र १५ कास्य पदक जितेको छ ।

झापाबाट एथलेटिक्समा ८ स्वर्ण, २ रजत र ६ कास्य, करातेमा ६ स्वर्ण र ३ कास्य, तेक्वान्दोमा २ स्वर्ण, उसुमा १० रजत र ६ कास्य, कबड्डीमा एक रजत पदक जितेको झापा जिल्ला खेलकुद विकास समिति अध्यक्ष प्रशान्त भण्डारीले बताए ।

प्रदेश प्रतियोगितामा झापा दोस्रो भएको छ । मोरङ प्रथम भयो । समिति अध्यक्ष प्रशान्त भण्डारीलाई मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ट्रफी प्रदान गरे ।

राष्ट्रपति रनिङ शिल्ड विद्यालयस्तरको यो एक मात्र राष्ट्रिय प्रतियोगिता हो । पालिका, जिल्ला हुँदै प्रदेशको टिमबाट खेलाडी केन्द्र तहको राष्ट्रपति रनिङ शिल्डमा सहभागी हुने गरेका छन् ।
प्रतियोगिताअन्तर्गत एथलेटिक्स र उसु दशरथ रंगशाला, कराते र तेक्वान्दो सातदोबाटो र कबड्डी लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा खेलाइने तालिका छ ।