२०८२ साउन १८ आइतबार
Jhapa Today
Adv top

‘गाउँगाउँमा पुग्ने मेनपावरका एजेन्टमाथि निगरानी आवश्यक’


भद्रपुर, जेठ २७ । झापाको भद्रपुरमा श्रम तथा रोजगारसम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरिएको छ । वैदेशिक रोजगारीको नाममा ठगिने क्रम बढिरहेकोले गाउँघरमा खटिएका एजेन्टहरूमाथि पनि प्रहरीले निगरानी बढाउनुपर्ने वक्ताहरुले बताए ।

कार्यक्रममा भद्रपुर नगरपालिका क्षेत्रको रोजगार तथा बेरोजगारको वर्तमान अवस्था तथा नयाँ रोजगार सिर्जनाका सम्बन्धमा अन्तरक्रियात्मक छलफल गरिएको थियो ।

भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेलले वैदेशिक रोजगारीका नाममा ठगिने क्रम बढिरहेकोले त्यसतर्फ नगरपालिका सामी परियोजनामार्फत काम गरिरहेको बताएका छन् ।

नगरपालिकाले वैदेशिक रोजगारीबाट फर्केका र उनीहरूका परिवारलाई लक्षित गर्दै अभिमुखीकरण, वित्तीय साक्षरतालगायतका कार्यक्रम सञ्चालन गरिरहेको उनको भनाइ छ ।

सुरक्षित आप्रवासन कार्यक्रम (सामी) का संयोजक शेखर बुढाथोकीले सञ्चालन र रोजगार सेवा केन्द्रका संयोजक टिकाराम पाण्डेले प्रस्तुति गरेको कार्यक्रममा सहभागीहरुले नगरभित्र दक्ष र नियमित कामदारको अभावमा भारतीय श्रमिकहरुलाई काम लगाउनुपर्ने बाध्यता रहेको बताए ।

भद्रपुर नगरपालिका, रोजगार सेवा केन्द्रको आयोजनामा नगरपालिकाको सभाहलमा नगरप्रमुख गणेश पोखरेलको अध्यक्षतामा आयोजित कार्यक्रममा झापा उद्योग वाणिज्य संघ, झापा उद्योग संघ, नेपाल चिया उत्पादक संघ, पदाधिकारी सदस्य तथा भद्रपुर नगरपालिका क्षेत्रमा सञ्चालित विभिन्न उद्योगहरुका सञ्चालकहरुको सहभागिता थियो ।

कार्यक्रममा उद्योगीहरु जेपी शर्मा, शिवकुमार गुप्ता, दिपेश ढकाल, सुवासरत्न शाक्य, राजेन्द्रकुमार सिंह राजवंशी, आदित्य पराजुली, झापाका सिडियो गोपालप्रसाद अधिकारी, झापाका एसपी राजन लिम्बूलगायतले सुझाव राखेका थिए ।

उपप्रमुख राधा कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला, नगरपालिकाको आर्थिक विकास समिति संयोजक प्रशंसा ठटाल, सामाजिक विकास समिति संयोजक सीतादेवी ढकाललगायतको सहभागिता रहेको कार्यक्रममा नगरप्रमुख पोखरेलले उद्योगी व्यवसायीको सुझाव अनुसार भद्रपुरमा उद्योग विकास र रोजगारी सिर्जनाका लागि नगरपालिकाले योजनाबद्ध कार्यक्रमहरु सञ्चालन गर्ने प्रतिबद्धता जनाएका थिए ।

Adv footer