२०८२ साउन १८ आइतबार
Jhapa Today
Adv top

अत्यधिक गर्मी बढेपछि कमलका विद्यालयमा बिदा


बिर्तामोड, जेठ २७ । झापाको कमल गाउँपालिकाले दुई दिनका लागि विद्यालय बिदा दिएको छ । आज सूचना जारी गर्दै गाउँपालिकाले दुई दिनका लागि सामुदायिक र संस्थागत विद्यालय बन्द गरेको छ ।

केही दिनयता अत्यधिक गर्मी बढेपछि बुधबार र बिहीबारका लागि विद्यालय बिदा दिने गाउँपालिकाले जनाएको हो । झापामा ३८ डिग्री सेल्सियससम्म तापक्रम पुगेको छ ।

गर्मीले पठनपाठनमा समस्या आएका कारण विद्यालयमा बिदा गर्नुपर्ने अवस्था आएको गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले जानकारी दिए ।

गर्मीका कारण विद्यार्थीहरुको पठनपाठनमा समस्या भएकोले मिन पचासको विदाबाट कट्टा हुनेगरी दुई दिन पठनपाठन स्थगित गर्न अध्यक्ष राईले सबै विद्यालयहरुलाई सूचित गरेका छन् ।

विद्यार्थीहरुको समस्यालाई मध्यनजर गरी दुई दिनका लागि पठनपाठन रोक्ने निर्णय गरिएको शिक्षा शाखा प्रमुख सूर्य न्यौपानेले बताए ।

कमल गाउँपालिकामा २१ वटा सामुदायिक र २९ वटा संस्थागत विद्यालय रहेका छन् । त्यस्तै, खानेपानीको अभावमा कचनकवलको लक्ष्मी मावि पनि विदा दिइएको छ ।

मनसुन कोशी प्रदेशबाटै बाहिरिएपछि एक सातायता तराईमा उखुम गर्मी भइरहेको छ । भोलिदेखि पानी पर्ने अनुमान गरिएको छ ।

Adv footer