२०८२ साउन १८ आइतबार
Jhapa Today
Adv top

इस्ट होराइजनका विद्यार्थीले राखे धानको ब्याड


मेचीनगर, जेठ २७ । झापा धुलाबारीको इस्ट होराइजन अंग्रेजी माध्यमिक विद्यालयका विद्यार्थीहरूले असार १५ को तयारीस्वरूप विद्यालय परिसरमै धानको बीऊ छरेका छन् ।

नेपालमा धान रोपाइँलाई उत्सवका रूपमा मनाइने असार १५ लाई विद्यालयले व्यावहारिक शिक्षासँग जोड्दै आएको छ । विद्यालयले गएको वर्षदेखि आफ्नै परिसरमा धानखेती सुरु गरेको हो ।

यसअघि विद्यार्थीहरूलाई मेचीनगरका विभिन्न स्थानमा लैजाँदै असार १५ को सांस्कृतिक महत्वबारे जानकारी दिनुका साथै परम्परागत धान रोपाइँमा सहभागी गराइँदै आएको विद्यालयका संस्थापक प्रिन्सिपल सञ्जीव राईले बताए ।

विद्यालयकी प्रमुख प्रशासक सवित्रा सापकोटाका अनुसार यो वर्षदेखि विद्यालय परिसरमै धानको बीऊ राखिएको छ भने धानखेती पनि परिसरमै गरिनेछ ।

विद्यार्थीहरूलाई रोपाइँदेखि धान भित्र्याउँदासम्मको सम्पूर्ण प्रक्रियाको प्रत्यक्ष अवलोकन गर्ने अवसर प्रदान गर्न विद्यालय परिसरमा धानखेती सुरु गरिएको हो ।

विद्यालय प्रशासनले यस्ता व्यावहारिक क्रियाकलापमार्फत विद्यार्थीहरूलाई पाठ्यपुस्तकको सीमितता भन्दा बाहिरको सिकाइ अनुभव गराउने उद्देश्य लिएको जनाएको छ ।

Adv footer