
बिर्तामोड, जेठ २७ । प्रहरीले झापाको झापा गाउँपालिकामा चरनमा रहेको भैँसी चोरेर बेच्न खोज्ने एकजना किशोरलाई पक्राउ गरेको छ ।


जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा झापा-६ का १९ वर्षीय विनोद बनिया रहेका छन् । उनले स्थानीय खगेन्द्रकुमार कार्कीको भैँसी चोरेर बेच्न लागेका थिए ।

खेतमा चराउन पगाहा लगाएको स्थानबाट बानियाँले भैँसी चोरेर बिक्रीका लागि झापा गाउँपालिका र बाह्रदशी गाउँपालिकाको सिमानामा पर्ने बिरिङ खोला पुर्याएका थिए ।


बनियाले भैँसी खरिदबिक्री गर्ने व्यापारीहरुलाई बोलाएर बिक्री गर्ने क्रममा भैँसी किन्न खोज्नेले नै शंका लागेर प्रहरीलाई खबर गरेका थिए ।

बनियाले हिजो बिहान ११ बजे कार्कीको भैँसी चोरेर बिरिङ खोलाको किनारसम्म पुर्याएको प्रहरीले जनाएको छ ।

बनियामाथि झापा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर चोरीसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
