
बिर्तामोड, जेठ २९ । सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर खारेजीको माग गर्दै सुनचाँदी व्यवसायी आन्दोलित भएका छन् । देशभरका व्यवसायी पसल बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको नेतृत्वमा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघ सुनमा लगाइएको विलासिता कर खारेजीको माग गर्दै आन्दोलनमा उत्रिएका छन् ।

नेपाल सुनचाँदी व्यवसायी संघ झापाले आज बिर्तामोडमा पत्रकार सम्मेलन गरेर व्यवसाय बन्द गरेर आफूहरू सडकमा आएको जनाएको छ ।

आन्दोलनका कार्यक्रमअनुसार आज झापाको बिर्तामोडस्थित नेपाल रत्न सुपर मार्केटका सबै सुनचाँदी पसल बन्द गरिएका छन् ।

यसअघि सुनचाँदी व्यवसायीको टोलीले हिजो झापाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको थियो । आन्दोलनका कार्यक्रमअनुसार भोलि विरोध र्याली आयोजना गरिने जनाइएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका तृतीय उपाध्यक्ष राजु धमलाले उपभोक्तालाई मार पार्ने गरी सरकारले सुनमा विलासिता कर लगाएको बताए ।

संघ झापाका अध्यक्ष रमेश विश्वकर्माले सम्पत्तिको रूपमा जोड्ने सुनमा विलासिता कर लागु हुनु कुनै पनि दृष्टिकोणबाट न्यायचित नहुने उल्लेख गरे ।
सरकारले बजेटमार्फत सुन तथा सुनका गरगहनामा २ प्रतिशत विलासिता कर लागु गर्ने घोषणा गरेको थियो । बजेटमार्फत हिरा तथा बहुमूल्य पत्थरमा १३ प्रतिशतको मूल्य अभिवृद्धि कर समेत सरकारले घोषणा गरेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै संघ सल्लाहकार बलराम कार्कीले सुनचाँदी व्यवसायीलाई कर लगाइए पनि उक्त कर उपभोक्ताले तिर्नुपर्ने बाध्यात्मक परिस्थिति रहेको बताए । कार्यक्रमको सञ्चालन संघका कोषाध्यक्ष अभिषेक गहतराजले गरेका थिए ।