२०८२ जेठ ३१ शनिबार
Jhapa Today
Adv top

शिवसताक्षीमा खानेपानीको ट्रान्सफर्मर चोरी


बिर्तामोड, जेठ ३१ । झापाको शिवसताक्षीमा खानेपानीका लागि जोडिएको १०० केभिए क्षमताको ट्रान्सफर्मर चोरी भएको छ ।

शिवसताक्षी–१ धरमपुरमा रहेको स्वर्गीय नरबहादुर–तारादेवी थापा स्मृति खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको ट्रान्सफर्मर चोरी भएको हो ।

प्रहरीका अनुसार आज बिहानको राति खानेपानी टेङ्कीको कम्पाउन्डभित्र रहेको ११ हजार भोल्टको लाइनबाट जडान भएको १०० केभिएको ट्रान्सफर्मर चोरी भएको हो ।

ट्रान्सफर्मरको तार छुटाएर भुइँमा झारेर ट्रान्सफर्मरभित्र रहेको सम्पूर्ण सामान निकालेर लगेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उक्त ट्रान्सफर्मरको बाहिरी भाग र अन्य ससाना सामानहरू मात्र छोडेको देखिएको छ । चोरी गर्ने व्यक्तिको खोजतलास तथा पहिचान गर्ने कार्य भइरहेको झापाका प्रहरी प्रवक्ता डिएसपी खगेन्द्र खड्काले बताए ।

ट्रान्सफर्मरको मूल्य अन्दाजी ८ लाख रुपैयाँ पर्ने अनुमान गरिएको छ । ट्रान्सफर्मर चोरीसँगै आयोजनामार्फत सञ्चालित खानेपानी आपूर्ति अवरुद्ध भएको छ । सयौँ उपभोक्ता प्रभावित भएका छन् ।

Adv footer