२०८२ जेठ ३१ शनिबार
Jhapa Today
Adv top

झापा इनर्जी शेयर निष्कासनकाे अन्तिम तयारीमा


बिर्तामोड, जेठ ३१ । कोशी प्रदेशको सबैभन्दा ठुलो सौर्य ऊर्जा परियोजना झापा इनर्जी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) जारी गर्ने तयारीलाई अन्तिम रूप दिएको छ ।

नेपाल धितोपत्र बोर्डको टोलीले झापाको शिवसताक्षी नगरपालिका–४ सालमारामा अवस्थित १० मेगावाट क्षमताको परियोजनाको स्थलगत अनुगमन तथा निरीक्षण गरेको छ ।

स्थलगत अनुगमन तथा निरीक्षणपछि आइपिओ स्वीकृतिको प्रक्रिया अगाडि बढेको प्रबन्ध सञ्चालक सुवास भट्टराईले जानकारी दिए ।

कम्पनीका प्रबन्ध सञ्चालक भट्टराईका अनुसार धितोपत्र बोर्डको स्थलगत निरीक्षण सकारात्मक रहेको र अब छिट्टै आइपिओ निष्कासनका लागि अन्तिम स्वीकृति पाउनेमा कम्पनी विश्वस्त छ ।

परियोजनाको वास्तविक लागत करिब ८७ करोड रुपैयाँ रहेको कम्पनीले जनाएको छ । यो कोशी प्रदेशमा हालसम्म सञ्चालनमा आएको सबैभन्दा ठुलो सौर्य परियोजना हो ।

किन महत्त्वपूर्ण छ यो आइपिओ ?

नेपालको ऊर्जा क्षेत्र अधिकांश जलविद्युतमा निर्भर रहँदा, झापा इनर्जी जस्ता सौर्य परियोजनाले ऊर्जा मिश्रणमा विविधता ल्याउन महत्त्वपूर्ण भूमिका खेल्छन् ।

विशेषगरी सुक्खायाममा नदीमा पानीको बहाव घट्दा जलविद्युत उत्पादन कम हुन्छ, यस्तो अवस्थामा सौर्य ऊर्जाले विद्युत् आपूर्तिलाई स्थिर बनाउन मद्दत गर्दछ ।

यस परियोजनाले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्नुका साथै प्रदेशको आर्थिक विकासमा समेत टेवा पुर्‍याएको छ ।

निजी क्षेत्रको लगानीमा निर्माण भएको यो विशाल परियोजनाले अन्य लगानीकर्ताहरूलाई पनि नवीकरणीय ऊर्जामा लगानी गर्न प्रोत्साहित गर्ने देखिन्छ ।

लगानीकर्ताहरूले अब छिट्टै कोशी प्रदेशको यो अग्रणी ऊर्जा परियोजनाको सेयरमा लगानी गर्ने अवसर पाउनेछन् । कम्पनीले छिट्टै आह्वानपत्र प्रकाशित गरी आवेदन खुला गर्ने मिति सार्वजनिक गर्ने जनाएको छ ।

Adv footer