२०८२ जेठ ३१ शनिबार
Jhapa Today
Adv top

अध्यक्ष स्याङबोको अठोटमा पालिकाको अग्रसरताः कृषिमार्फत समृद्ध बन्दै रोङ


-विनिशा शर्मा
बिर्तामोड, जेठ ३१ ।
इलाम जिल्लाको पूर्वीदक्षिण भागमा रहेको रोङ गाउँपालिकाले कृषिमा नवीनतम अवधारणाका साथ कार्यक्रमहरु ल्याएको छ । कृषि क्षेत्रलाई उत्पादन, आम्दानी र रोजगारको लागि प्रतिस्पर्धी र व्यावसायिक कृषक बनाउने अभियानमा गाउँपालिका अघि बढेको हो ।

रोङ गाउँपालिकाले स्थानीय कृषकको जीवनस्तर उकास्न र आधुनिक कृषि प्रविधिको प्रयोगलाई बढावा दिन ‘गुरु किसान कार्यक्रम’ सञ्चालन गर्दै आएको छ । यो कार्यक्रम गाउँपालिकाले कृषि उत्पादनमा आत्मनिर्भरता, नवप्रवर्तन र व्यावसायीकरणलाई लक्षित गर्दै अघि सारेको एक महत्वपूर्ण पहल हो, जसले अहिले समग्र पालिकाभरि सकारात्मक प्रभाव पार्न थालेको छ ।

गुरु किसान कार्यक्रमको मूल उद्देश्य स्थानीयस्तरमै कृषि ज्ञान र सीपको आदानप्रदान गर्न सक्ने नेतृत्वदायी कृषक वर्ग तयार पार्नु हो । यस कार्यक्रमअन्तर्गत प्रत्येक वडाबाट छनोट गरिएका दक्ष र अनुभवी कृषकलाई ‘गुरु किसान’ का रूपमा चयन गरिएको छ ।

उनीहरूलाई विशेष तालिम, प्रविधि र आवश्यक सहयोग प्रदान गरिरहेको छ । जसका कारण उनीहरुले आफ्ना क्षेत्रका अरु किसानलाई पनि ज्ञान बाँड्न सक्ने र उत्पादन प्रणालीमा सुधार गर्न मद्दत पुगिरहेको छ । आधुनिक कृषि प्रविधिको ज्ञान लिँदै उनीहरूले परम्परागत खेती प्रणालीमा नवीन सोच ल्याइरहेका छन् ।

देशमै पहिलो र नमुनाको रुपमा रहेको यो कार्यक्रममा संघीय सरकारले १५ लाख सहयोग गरेको र बाँकी सबै खर्च गाउँपालिकाले गरेको गाउँपालिका अध्यक्ष मणिकुमार स्याङबोले जानकारी दिए । गाउँपालिकाले १२१ जना कृषकहरुलाई गुरु किसान घोषणा गरेको छ ।

रोङ गाउँपालिकाले स्थानीय उत्पादन रायो सागलाई गन्द्रुकका रुपमा ब्रान्डिङ गरेर अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउँदै आएको अध्यक्ष स्याङबोले जानकारी दिए । त्यस्तै, गाउँपालिकाले मह, बेसार, अम्रिसो, चिया, अदुवाको व्यावसायिक बजारीकरण गर्दै आएको छ ।

महिला तथा युवा सहभागिता

गाउँपालिकाले युवालक्षित नयाँ कार्यक्रमबाट युवाहरूलाई आकर्षित गर्न सकियो भने कृषिमा आवश्यक जनशक्तिको अभाव नहुने र किसान आत्मनिर्भर हुने सोचका साथ कार्यक्रम अगाडि बढाएको छ ।
गुन्द्रुक उत्पादन, प्याकेजिङ, बजारीकरण, सिस्नो, बेसार, करेला प्रशोधन, प्याकेजिङ, बजारीकरण लगायतमा गाउँपालिकाले विशेष कार्य गरिरहेको उपाध्यक्ष विष्णुमाया खवासले जानकारी दिइन् । यसबाट कृषिमा आकर्षण बढेको छ भने किसानलाई आत्मनिर्भर बन्न सहज भएको छ ।

गुरु किसान कार्यक्रमबाट युवाहरूलाई आकर्षित गर्न सकियो भने कृषिमा आवश्यक जनशक्तिको अभाव नहुने र किसान आत्मनिर्भर हुने विश्वास लिइएको छ । रोङ गाउँपालिकाले कृषिमा निक्कै उत्कृष्ट कार्यक्रम गर्दै आएकोे उनले बताइन् ।

उपाध्यक्ष खवासका अनुसार गुरु किसान कार्यक्रममा महिला र युवा सहभागिता उल्लेख्य रहेको छ । पालिकाले कार्यक्रमको आरम्भमै ५० प्रतिशत महिला सहभागिता सुनिश्चित गर्ने नीति लिएको थियो । अहिले धेरै महिला गुरु किसानका रूपमा काम गरिरहेका छन् ।

गुन्द्रुक, करेलाको ब्रान्डिङ गर्ने, बेसार र सिस्नुको पालिकाले नै प्याकेजिङ ब्रान्डिङ गरिरहेको छ । यसबाट किसानलाई कृषिमा आकर्षण बढेको छ भने किसानलाई आत्मनिर्भर बन्न सहज भएको छ ।

कार्यक्रममा सहभागी युवाहरूले तरकारी खेती, फलफूल उत्पादन, जैविक मल निर्माण, पशुपालन तथा कृषि व्यवसाय व्यवस्थापनसम्बन्धी तालिम पाएका छन् । रोङका केही युवाहरूले अहिले व्यावसायिक टमाटर खेती, बेमौसमी तरकारी उत्पादन र अर्गानिक चिया खेतीमा समेत हात हालेका छन् ।

त्यस्तै, रोजगारीको अवसर खोज्दै विदेश जान चाहने युवा अहिले गाउँमै व्यावसायिक कृषि गर्ने सोचमा लागेका छन् । रोङ–५ का २८ वर्षीय जीवन लिम्बू ३ वर्ष कतार बसेर फर्किएपछि गुरु किसानबाट तालिम लिएर अहिले बर्सेनि १५ लाखभन्दा बढी आम्दानी गर्दैछन् । उनी भन्छन्, ‘पहिला विदेश जानु नै जीवनको लक्ष्य थियो । तर अहिले लाग्छ, गाउँमै पनि राम्रो गर्न सकिन्छ भन्ने विश्वास जागेको छ ।’

उनी भन्छन्, ‘गुरु किसान कार्यक्रमले हामीलाई कृषि व्यवसायलाई पेशाको रूपमा लिन प्रेरणा दिएको छ । अब हामी वैदेशिक रोजगारी होइन, आफ्नै भूमिमा बसेर केही गर्ने सोचमा छौँ ।’

कार्यक्रमको संरचना र कार्यान्वयन प्रक्रिया

गुरु किसान कार्यक्रम रोङ गाउँपालिकाको कृषि शाखाअन्तर्गत सञ्चालनमा आएको हो । कार्यक्रमको प्रारम्भिक चरणमा पालिकाभित्र रहेका सबै छवटा वडामा कृषि क्षेत्रमा क्रियाशील, समर्पित र लगनशील किसानको सूची तयार पारिएको थियो । त्यसपछि छनोट समितिको सिफारिसमा प्रत्येक वडाबाट कम्तीमा दुईजना गुरु किसान चयन गरिए । उनीहरूको छनोट प्रक्रियामा उनीहरूको कृषि अनुभव, उत्पादनमा परिवर्तन, स्थानीयस्तरमा नेतृत्व क्षमता तथा समुदायमा प्रभावकारिता आदिलाई प्राथमिकता दिइएको थियो ।

गुरु किसानलाई छनोट गरेपछि उनीहरूलाई विभिन्न विषयमा आधारभूतदेखि व्यावसायिकस्तरको तालिम प्रदान गरिएको थियो । ती तालिमहरूमा जैविक कृषि, उन्नत बीऊबिजन प्रविधि, समावेशी कृषिअभ्यास, कीरा नियन्त्रण, पशुपालन, जलसञ्चय तथा सिँचाइ प्रविधि, बजार व्यवस्थापन र कृषि योजनाको विकास जस्ता विषयहरू समेटिन्छन् । तालिमपश्चात उनीहरूले आफ्नै बारी तथा फार्ममा सिकेका सीपहरूको प्रयोग गर्छन् र अरू किसानलाई समेत अवलोकन भ्रमण, तालिम तथा परामर्शमार्फत मार्गदर्शन दिन्छन् ।

स्थानीय कृषकमा परेको प्रभाव

गुरु किसान कार्यक्रमले किसान समुदायमा नयाँ ऊर्जा भरेको छ । धेरै किसान अब परम्परागत कृषि प्रणालीबाट बाहिर निस्केर वैज्ञानिक तरिकाबाट खेती गर्न थालेका छन् । रोङ–३ का गुरु किसान धनबहादुर राई भन्छन्, ‘पहिला हामीलाई जेजति थाहा थियो, त्यहीअनुसार खेती गथ्र्यौं । तर अब हामीले नयाँ प्रविधिबाट के गर्यो भने के परिणाम आउँछ भन्ने बुझ्न थाल्यौँ । किसान साथीहरूले पनि हामीलाई हेरेर सिक्न थालेका छन् ।’

गुरु किसानबाट पाएको ज्ञानका आधारमा सयौँ किसानले अब तरकारी, फलफूल, अदुवा, अलैँची, कफी, चियाजस्ता नगदे बालीमा ध्यान दिन थालेका छन् । त्यसैगरी, पशुपालनतर्फ पनि व्यावसायिक भैँसीपालन, कुखुरापालन र मौरीपालनजस्ता कार्यक्रमले तीव्रता पाएका छन् ।

गाउँपालिकाको कृषि शाखाका अनुसार कार्यक्रम लागु भएसँगै उत्पादनमा २० प्रतिशतको वृद्धि भएको छ । उही जमिन, उही कृषक तर सही तरिकाबाट गरिएको खेतीले यस्तो सकारात्मक नतिजा दिएको शाखा प्रमुख रामेश्वर अधिकारी बताउँछन् ।

प्राविधिक सहयोग र बजेट व्यवस्था

कोशी प्रदेशमा पछिल्ला वर्षहरूमा सिँचाइ सुविधा, सहकारी संस्था, कृषिमा प्रविधिको प्रयोग जस्ता विषयमा उल्लेखनीय सुधार आएको छ । सरकारले कृषि एक्स्पो, मूल्य सूचना प्रणाली र सहुलियत ऋण जस्ता कार्यक्रममार्फत कृषकहरूलाई सहयोग गरेको छ ।

त्यस्तै, गुरु किसान कार्यक्रमका लागि रोङ गाउँपालिकाले वार्षिक बजेट छुट्याएको छ । पालिकाले गुरु किसानलाई तालिम दिनका लागि कृषि प्राविधिकसहित जिल्ला कृषि कार्यालय र विभिन्न कृषि अनुसन्धान केन्द्रसँग सहकार्य गरेको छ । गुरु किसानलाई प्रयोगशाला सामग्री, सुधारिएको बीऊ, औजार, मल आदिमा समेत प्राथमिकता दिइन्छ ।

साथै, गुरु किसानले आफ्नै फार्म वा बारीमा ‘डेमो प्लट’ स्थापना गर्न पाउँछन्, जसमा नयाँ प्रविधिको प्रयोग गरेर नमुना खेती गरिन्छ । अन्य किसानहरू त्यहाँ आएर प्रत्यक्ष अवलोकन र प्रशिक्षण लिन सक्छन् ।
पालिकाका अध्यक्ष स्याङबोले भने, ‘गुरु किसान कार्यक्रम हाम्रो कृषि रुपान्तरण अभियानको मेरुदण्ड हो । यसले दीर्घकालीन रुपमा कृषकको मानसिकता परिवर्तन गर्दैछ, जसको असर समग्र गाउँपालिकाको विकासमा देखिन्छ ।’

पालिकाको अग्रगामी योजना

गाउँपालिकाले आगामी वर्षदेखि गुरु किसानको संख्या बढाउने, प्रत्येक वडामा कृषि लघु परीक्षण प्रयोगशाला स्थापना गर्ने र किसान बजार निर्माण गर्ने योजना बनाएको छ । यसका साथै डिजिटल प्रविधिको माध्यमबाट कृषि ज्ञान प्रवाह गर्न ‘रोङ कृषि एप’ को विकास कार्य पनि प्रारम्भिक चरणमा रहेको अध्यक्ष स्याङबोले जानकारी दिए ।

साथै, गुरु किसान कार्यक्रमलाई ‘एक घर, दुई उद्यम’ जस्ता स्थानीय उत्पादन अभिवृद्धिका अन्य कार्यक्रमसँग जोड्ने तयारी छ, जसबाट समग्र गाउँपालिकाको आर्थिक उन्नयनमा टेवा पुग्ने विश्वास गरिएको छ ।

जलवायु परिवर्तन र त्यसको असर

कोशी प्रदेश जलवायु परिवर्तनको प्रत्यक्ष असर भोगिरहेको क्षेत्र हो। असिनापात, असमय वर्षा, लामो खडेरी र बाढीजस्ता चरम मौसमी घटनाहरूले कृषिमा गहिरो असर पारेका छन् । तरकारी तथा फलफूल खेतीमा ठुलो क्षति पुगेको थियो । यस्ता जोखिम व्यवस्थापन गर्न जलवायु अनुकूल खेती प्रणाली, कृषि बीमा, बाली विविधीकरण तथा जोखिम सूचना प्रणालीलाई मजबुत बनाउनु अत्यावश्यक देखिन्छ ।

सरकारको आगामी नीति तथा कार्यक्रम

प्रदेश प्रमुख परशुराम खापुङले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रमका अनुसार कृषि, पशुपन्छी र मत्स्य क्षेत्रमा अनुभव र ज्ञान हासिल गरेका व्यावसायिक कृषकमार्फत सेवा प्रवाह र क्षमता अभिवृद्धि गर्न अगुवा कृषकको पहिचान गरी सम्मान गरिनेछ, उद्यमशीलता जागृत गर्न ‘कृषक सबैभन्दा अगाडि’ भन्ने अवधारणालाई कार्यान्वयन गर्न कृषिककेन्द्रित अभियान सञ्चालन गरिनेछ भन्ने उल्लेख छ ।

सम्भावना र आगामी दिशा

कोशी प्रदेशमा कृषिको क्षेत्र विस्तार र आधुनिकीकरणका प्रचुर सम्भावना छन् । जैविक विविधता, पर्याप्त वर्षा, उब्जनी जमिन, मानव स्रोत र सीमित जल स्रोतको सदुपयोगमार्फत प्रदेश कृषि आत्मनिर्भर बन्न सक्छ । चिया, अलैँची, अदुवा, सुन्तला, तरकारी, डेरी, कुखुरापालन जस्ता क्षेत्रहरूमा व्यावसायिकता बढाउन सकिन्छ ।

प्रदेश सरकारले “एक नगरपालिका, एक विशिष्ट कृषि उत्पादन” अभियान अघि बढाइरहेको छ, जसले क्षेत्रीय विशेषता अनुसार बाली विविधता विकासमा टेवा पु¥याउने अपेक्षा गरिएको छ । यस्तै, कृषि पूर्वाधार निर्माण, बजार पहुँच विकास, किसानलाई सहुलियत कर्जा र तालिम कार्यक्रम विस्तारले कृषिलाई नाफाको पेशा बनाउने सम्भावना बढाउनेछ ।

त्यसैगरी, ‘कृषि पर्यटन’ अवधारणाले पनि पहाडी जिल्लाहरूमा नयाँ सम्भावना खोल्न सक्छ । प्राकृतिक सम्पदाले भरिपूर्ण देश, त्यसमा पनि स्थानीय उत्पादन, परम्परागत खेती शैली र प्राकृतिक सौन्दर्यलाई पर्यटनसँग जोडेर वैकल्पिक आयको स्रोत बनाउन सकिन्छ । यसबाट आन्तरिक र बाह्य पर्यटनलाई जोड्न सकियो भने कृषकलाई हौसला मिल्नेछ साथै हेर्न आउनेहरु पनि प्ररित हुनेछन् ।

समस्या र चुनौतीहरू

यद्यपि, कार्यक्रमले सफलता पाइरहे पनि केही चुनौतीहरू पनि छन् । गुरु किसानको पहिलो र महत्वपूर्ण भनेको माटोको अवस्था बुझ्नु हो । सबै किसानले प्रविधि सजिलै आत्मसात गर्न सक्दैनन् । अझै पनि केही टाढा–टाढाका बस्तीमा गुरु किसानको पहुँच पुग्न सकेको छैन । त्यस्तै, तालिमपश्चात प्राप्त ज्ञानलाई व्यवहारमा उतार्नका लागि बजारको पहुँच, सिँचाइको व्यवस्था र वित्तीय सहायताको अभाव देखिन्छ ।

गाउँपालिका अध्यक्ष स्याङबोले माटो परीक्षणको काम नभएकोले गुरु किसान कार्यक्रममा असर परिरहको जानकारी दिए । माटो तथा मल परीक्षण प्रयोगशाला झुम्काले माटो परीक्षण नगर्दा समस्य भएको उनको भनाइ छ ।
माटोमा हुने पोषक तत्व (जस्तैः नाइट्रोजन, फस्फोरस, पोटासियम आदि) कति छन् भन्ने थाहा पाउन र कुन तत्व कम वा बढी छ भन्ने जानकारी लिन माटो परीक्षण गरिन्छ । यसले किसानलाई कुन मल कति हाल्ने भनेर निर्णय गर्न सजिलो हुने स्याङबोको भनाइ छ ।

‘माटो परीक्षण माटोको लागि एक प्रकारको स्वास्थ्य परीक्षण हो’, अध्यक्ष स्याङबोले भने, ‘यसले किसानलाई लागत कम गरेर उत्पादन बढाउन, वातावरण जोगाउन र दीर्घकालीन रूपमा माटोको उपयोग क्षमता टिकाउन सहयोग गर्छ ।’

निष्कर्ष

रोङ गाउँपालिकाको गुरु किसान कार्यक्रम केवल कृषि उत्पादन बढाउने अभियान मात्र होइन, यो स्थानीय नेतृत्व, सीप प्रवाह र आर्थिक सशक्तीकरणको सूत्र हो । जब किसान आफैँ ज्ञान बाँड्ने माध्यम बन्छन्, तब समुदाय नै सशक्त बन्न थाल्छ । यस्तो खालको कार्यक्रम अन्य पालिकाका लागि पनि अनुकरणीय बन्न सक्छ ।

गुरु किसानको हात समातेर अघि बढ्दै गर्दा रोङले केवल उब्जनी बढाइरहेको छैन, बरु सामुदायिक सहकार्य, प्रविधि अनुकूलन र दिगो विकासको मार्गमा ठोस पाइला चालिरहेको छ । यसले पालिकाहरुमा मात्र होइन देशका नै कृषिमा नमुनाको रुपमा रहेको छ । यसबाट दैनिक विदेशिने युवा तथा महिलाहरुको संख्यामा कमि आउनेछ जसले गर्दा युवा जोस जाँगर आफ्नै देशमा भविष्य खोज्ने छन् ।

कोशी प्रदेशको कृषि हाल संक्रमणकालीन अवस्थामा रहेको छ, एकातिर परम्परागत समस्याहरूले किसानलाई निराश बनाइरहेका छन् भने अर्कोतिर प्रविधि, युवाको आकर्षण र संस्थागत प्रयासले नयाँ ढोका खोल्दैछन् । कृषि मात्र जीवन निर्वाहको साधन नभएर आर्थिक समृद्धिको आधार हो भन्ने बुझाइ फैलँदै गएको छ । प्रदेश सरकार, संघीय सरकार र निजी क्षेत्रको सहकार्यमा कृषि प्रणालीलाई उत्पादनमुखी, वातावरणमैत्री र व्यावसायिक बनाउने हो भने कोशी प्रदेश कृषि क्रान्तिको गन्तव्य बन्न सक्ने सम्भावना अझै टाढा छैन ।

तस्वीरहरुः रोङ गाउँपालिका

Adv footer