
बिर्तामोड, असार १ । झापाको अर्जुनधारामा रहेको एक स्विमिङ पुलमा पौडी खेल्दाखेल्दै एकजना मानिसको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा काठमाडौँ १४ बाफल घर भई विगत २ महिनादेखि बिर्तामोड बसपार्कमा बस्दै आएका ४० वर्षीय केशव पाठक रहेका छन् ।

हिजो राति ८ः३० बजे अर्जुनधारा-६ माता मन्दिरनजिक रहेको सिएम स्विमिङ पुलमा डुबेर पाठकको मृत्यु भएको हो ।

पौडी खेल्दा खेल्दै उनी डुबेर सिकिस्त भएका थिए । उनलाई उद्धार गरेर सँगै रहेका साथीहरुले उपचारको लागि बिएन्डसी अस्पतालमा भर्ना गरे पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

पाठकको मृत्युबारे इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडले अनुसन्धान सुरु गरेकोे जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
