२०८२ असार १ आइतबार
Jhapa Today
Adv top

स्वयम् र निर्जला टेबल टेनिसमा झापा च्याम्पियन


बिर्तामोड, असार १ । झापामा संघ गठन भएको झन्डै अढाई दशकपछि आयोजना भएको जिल्लास्तरीय टेबल टेनिस प्रतियोगिताको उपाधि स्वयम् अधिकारी र निर्जला भट्टराईले जितेका छन् ।

झापाको बिर्तामोडमा भएको प्रतियोगिताको खुला सिंगल स्पर्धामा बिर्तामोडका अधिकारी र अर्जुनधाराकी भट्टराईले सोझो सेटमा जित निकाल्दै झापा च्याम्पियन बनेका हुन् ।

प्रतियोगितामा पुरुषतर्फ बिर्तामोडका दिपक भेटवाल दोस्रो र अर्जुनधाराका गौरव इङनाम तेस्रो भए । तयस्तै, महिलातर्फ कमलकी अनन्या कार्की दोस्रो र कनकाईकी युना शिवाकोटी तेस्रो भए ।

प्रतियोगिताअन्तर्गत जुनियर ब्वाइज सिंगलतर्फ कनकाईको हरिकुल नमुना माविका दिवस खड्का प्रथम, निश्चल घिमिरे दोस्रो र लोकेन्द्र पनेरु तेस्रो भए ।

त्यस्तै, जुनियर गल्स सिंगलतर्फ ल्होत्से इङ्लिस स्कुल धुलाबारीका इशा लिम्बू प्रथम, ल्होत्सेकै चाहना नेम्वाङ दोस्रो र केरखा पब्लिक स्कुल कमलका अनन्या कार्की तेस्रो भए ।

प्रथम, दोस्रो र तेस्रो हुनेलाई ५ हजार, ३ हजार र २ हजार नगद पुरस्कार, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

यसैबीच, ब्वाइज डबल्समा गौरव इङनाम र टप्सन खड्का अर्जुनधाराको जोडी प्रथम भएको छ । दिपक भेटवाल र स्वयम् अधिकारी बिर्तामोडको जोडी दोस्रो तथा अनुज खरेल र अञ्जिल दुलाल कनकाईको जोडी तेस्रो भएको छ ।

गर्ल्स डबल्समा इशा लिम्बू र प्रेक्षा खनाल मेचीनगरको जोडी प्रथम, आभा पोखरेल र रोनिसा श्रेष्ठ, बुद्वशान्तिको जोडी दोस्रो तथा निर्जला भटराई र एलिसा दवाडी अर्जुनधाराको जोडी तेस्रो भएको छ ।

महिला र पुरुषको डबल्स विधाका विजेतालाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

झापा जिल्ला टेबल टेनिस संघको आयोजनामा विभिन्न ६ वटा विधामा भएको प्रतियोगितामा झापाका ११० जना खेलाडी सहभागी रहेको प्रशिक्षकसमेत रहेका संघका जिल्ला सदस्य प्रकाश राइले जानकारी दिए ।

विजेताहरुलाई प्रमुख अतिथि झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, संघका अध्यक्ष सन्तोष अग्रवाल, सचिव मिलन शाक्य, पूर्वअध्यक्ष शेखर ढकाल, बिर्तामोड–५ का वडा अध्यक्ष रोहित प्रसाईं, कभर्ड हलका सञ्चालक अनुस्का बोहोरा लगायतको पुरस्कार वितरण गरेको कार्यक्रम संयोजक विपिन तुलाधरले जानकारी दिए ।

Adv footer