
बिर्तामोड, असार १ । झापाको मेचीनगरबाट सशस्त्र प्रहरीले ३ लाख ६० हजार रुपैयाँ बराबरको अवैध सुर्ती बरामद गरेको जनाएको छ ।

मेचीनगर नगरपालिका १५ किसनकामतस्थित चिया बगानमा भारतबाट भन्सार छलेर अवैध रुपमा नेपालतर्फको ल्याएर लुकाइछिपाई राखेको १८ बोरा सुर्ती हिजो बरामद गरिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वार्टर झापा र सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म भद्रपुरको संयुक्त टोलीले सुर्ती बरामद गरेको हो ।

बरामद भएको उक्त सुर्ती आवश्यक कारबाहीको लागि आज भद्रपुर भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक सुमन पोखरेलले जानकारी दिए ।
