
भद्रपुर, असार २ । झापा भद्रपुरको मेची रंगशालालाई सरकारले आगामी आर्थिक वर्षको बजेटमा साढे छ करोड रुपैयाँ विनियोजन गरेको छ ।

झापामा सरकारी स्वमित्वको सबैभन्दा पुरानो र एक मात्र रंगशालाको प्यारापिट निर्माण तथा फ्लड लाइट जडानका लागि सो बजेट विनियोजन भएको हो ।

आर्थिक वर्ष २०८२/२०८३ को संघीय सरकारको बजेट, नीति तथा कार्यक्रममा रंगशालाको प्यारापिट निर्माणका लागि तीन करोड रुपैयाँ विनियोजन भएको भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकालले जानकारी दिए ।

त्यस्तै, कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा तीन करोड ५० लाख रुपैयाँ विनियोजन भएको महासचिव जीवनकुमार श्रेष्ठले बताए ।

संघको बजेटबाट रंगशालामा प्यारापिट निर्माण गरिने उल्लेख रहेको झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारीले जानकारी दिए ।

त्यस्तै, प्रदेशको बजेट सिँचाइ, खानेपानी तथा ऊर्जा मन्त्रालयमार्फत विनियोजन भएको हो । प्रदेशको बजेटमार्फत रंगशालामा फ्लड लाइट जडान गरिने उल्लेख छ ।

सो रंगशालामा २०६२ सालदेखि २०७९ सालसम्म विद्यालयस्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाहेक अन्य खेलकुद गतिविधि भएका थिएनन् ।
२०७९ मा भद्रपुर झापा गोल्डकप भएपछि रंगशालामा प्यारापिट र फ्लड लाइट जडानको माग उठेको हो । खेलकुद विकास समितिको समन्वयमा गोल्डकप समितिको अगुवाईमा संघ र प्रदेशमा बजेट माग गरिएको थियो ।