
बिर्तामोड, असार २ । एक साताअघि बिर्तामोडमा सम्पन्न प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीमा दोस्रो भएका देवी माध्यमिक विद्यालयका प्रतिभालाई विद्यालयले सम्मान गरेको छ ।

विद्यालयमा आयोजित एक कार्यक्रमका बीच प्रदर्शनीमा दोस्रो भएको ‘देवी रोबोट’ निर्माण गर्ने चारजना विद्यार्थीलाई सम्मान गरिएको प्रधानाध्यापक अम्बिका श्रेष्ठले बताइन् ।

देवी रोबोटले प्रदर्शनीमा दोस्रो स्थान हासिल गर्दै नगद तीन लाख रुपैयाँ पुरस्कार जितेको थियो । कक्षा ११ का चारजना विद्यार्थी मिलेर सो रोबोट बनाएका थिए ।

रोबोट बनाउने कक्षा ११ अध्ययनरत सविन बास्कोटा, आयुष प्रसाईं, अनिश कटुवाल र सुवर्ण राउतलाई सम्मानपत्र प्रदान बधाई दिइएको थियो ।

यसैबीच, विद्यालयले उनीहरुलाई कक्षा १२ मा पूर्ण छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको प्रधानाध्यापक श्रेष्ठले जानकारी दिइन् ।

सविन, आयुष, अनिश र सुवर्णले एक महिना लगाएर देवी रोबोट बनाएका हुन् । प्रदर्शनीमा सो रोबोटले सबैलाई चकित बनाएको थियो ।
