
बिर्तामोड, असार ४ । इलामको रोङ–१ शान्तिपुरका ७२ जना ऐलेनी बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा (धनीपुर्जा) प्रदान गरिएको छ । भूमि समस्या समाधान आयोग इलामले उनीहरुलाई एक कार्यक्रमका बीच प्रमाणपत्र प्रदान गरेको हो ।


रोङ गाउँपालिका–१ शान्तिपुरस्थित वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा पहिलो चरणमा १५० जनाको पूर्जा तयार भए पनि राजस्व तिर्ने ७२ जनालाई प्रमाणपत्र दिइएको गाउँपालिका अध्यक्ष मणिकुमार स्याङबोले बताए ।

कोशी प्रदेशमै पहिलोपटक रोङ १ का भूमि समस्या भएकालाई जग्गाधनी प्रमाण–पुर्जा वितरण गरिएको जनाइएको छ । पूर्जा पाएका सबै वडाबासीले खुसी व्यक्त गरे ।

धनीपूर्जा नहुँदा भोग्नुपरेका कठनाइँ सकिएको उनीहरुको भनाइ थियो । धनीपुर्जा पाएपछि स्थानीय उत्साहित देखिए । धनीपुर्जा पाएसँगै उनीहरूलाई शिक्षा, स्वास्थ्य, घर निर्माणजस्ता सेवामा समेत सहज पहुँच हुने अपेक्षा गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि रहेका आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजालले भूमिहीन तथा अव्यवस्थित बसोबासीको हक सुनिश्चित गर्न आयोग प्रतिबद्ध रहेको बताए ।


त्यस्तै, कोशी प्रदेश संयोजक अनिलकृष्ण प्रसाईं, जिल्ला अध्यक्ष प्रकाश अधिकारी, कोशी प्रदेशका पूर्व प्रदेशसभा सदस्य काजिमान कागते, धीरेन शर्मा, नेपाली कांग्रेस इलामका जिल्ला सचिव निरज खड्गी, नेकपा एमालेका जिल्ला अध्यक्ष गणेश बराल, रोङ गाउँपालिका उपाध्यक्ष विष्णुमाया खवास लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा रोङ–१ का वडा अध्यक्ष मनोहरि खड्काले स्वागत मन्तव्य राखेका थिए भने प्रशासन शाखाका अधिकृत नेत्रप्रसाद पोखरेलले कार्यक्रम सञ्चालन गरेका थिए ।
