
बिर्तामोड, असार ४ । एसियन हाइवेको काँकरभिट्टा–लौकहीखण्ड कालोपत्र गर्न सुरु भएको छ । हिजो लक्ष्मीमार्गबाट एक लेन कालोपत्रको काम प्रारम्भ भएको हो ।


आयोजना पश्चिम खण्ड इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिका अनुसार निर्माण सम्झौता भएको १५ महिनामा करिब २३ प्रतिशत काम सकिएको छ ।

एसियाली राजमार्ग नम्बर २ अन्तर्गत काँकरभिट्टाबाट लौकहीसम्मको १२० किलोमिटर सडक स्तरोन्नति हुने भनिए पनि हाल ९५ दशमलव ७६ किलोमिटर मात्र काम भइरहेको छ । पूर्वी र पश्चिम खण्डमा विभाजन गरेर काम भइरहेको छ ।

चालु आर्थिक वर्षभित्र कम्तीमा १० किलोमिटर कालोपत्र गर्ने लक्ष्य रहेको छ । आयोजना पूर्वीखण्ड दमक कार्यालयका प्रमुख सुनिलबाबु पन्तका अनुसार पूर्वी खण्डमा २१ प्रतिशत काम सम्पन्न भएको छ ।
पूर्वी खण्डमा पनि चालु आर्थिक वर्षमा १० किलोमिटर कालोपत्र गर्ने लक्ष्य छ । पूर्वी खण्डमा ५० र पश्चिममा ७० वटा कल्भर्ट निर्माण भएका छन् ।


यो राजमार्ग बजार क्षेत्रमा ५० मिटर, जङ्गलमा २४ मिटर र ग्रामीण क्षेत्रमा ३३ मिटर चौडा हुनेछ । एसियाली विकास बैंकको ऋण सहयोगमा २०८० साल माघ १९ गतेदेखि निर्माण सुरु भएको हो ।

सडक सञ्जालबाट एसियाली राष्ट्रहरूलाई जोड्ने उद्देश्यका साथ राजमार्गको निर्माण थालिएको हो । एसियाली राजमार्ग २ को लम्बाई १३ हजार १७७ किलोमिटर रहेको छ ।
