
बिर्तामोड, असार ६ । झापाको सुरुंगा बजार राजमार्गको उत्तर सारिएपछि कनकाई बहुमुखी क्याम्पसले निर्माण गरेको ३१ वटा कोठा प्रयोगविहीन भएका छन् ।


व्यावसायिक प्रयोजनका बनाइएको ३१ वटा कोठा बजार सारिएकै कराण भाडामा लाग्न सकेको छैन । २ वर्षअघि ६० लाख रुपैयाँमा बनाइउको कोठा दक्षिण फर्किएका छन् ।

सहिद लक्ष्मी पाण्डेको शालिकबाट पूर्वतर्फ पुरानो बांगे बजारसम्म रहेका कोठा खाली रहँदा लगानी अलपत्र परेको छ । कनकाई नगरपालिकाको ७ लाख ७५ हजार र बाँकी रकम क्याम्पसको लगानीमा कोठा बनाइएको क्याम्पस प्रमुख विकास उप्रेतीले जानकारी दिए ।

हालसम्म शालिक अगाडिको एउटा सटर भाडामा लागेको छ । अर्को एउटा कनकाई प्रतिभा प्रतिष्ठानलाई बिजुली पानीको शुल्क बुझाउने सर्तमा उपलब्ध गराइएको छ ।
बजार पुरानै ठाउँमा भएको भए दक्षिण क्षेत्र जाने सवारीसाधनको स्टेसन हुने र चहलपहलका कारण कोठा भाडामा लाग्ने भएर संरचना बनाइएको थियो ।


क्याम्पसले प्रतिकोठा ५० हजार रुपैयाँ धरौटी र दुई हजार ५०० रुपैयाँ भाडा तोकेको छ । दुई वर्षदेखि कोठा खाली भएपछि भाडा घटाएर भए पनि प्रयोगमा ल्याउने लागेको उप्रेतीले बताए ।
