दमक, असार ६ । झापाको कमल गाउँपालिकामा मदिरा पिएर आपसमा विवाद हुँदा एकजनाको हत्या भएको प्रहरीले जनाएको छ ।


प्रहरीका अनुसार घटनामा कमल ४ सीतापुरीका ३७ वर्षीय देवेन्द्र लावतीको ढुंगा प्रहारबाट सूर्यविक्रम लिम्बूको मृत्यु भएको हो ।

हिजो साँझ ५ः३० बजे कमल गाउँपालिका वडा नम्बर ४ सीतापुरीचोक बस्ने ३५ वर्षीय सूर्यविक्रम लिम्बू र सोही ठाउँ बस्ने ३७ वर्षीय देवेन्द्र लावतीबीच मादक पदार्थ सेवन गरेर आपसमा विवाद भएको थियो ।

त्यसक्रममा देवेन्द्र लावतीले ढुंगाले टाउकोमा प्रहार गर्दा सूर्यविक्रम लिम्बू घाइते भएका थिए । उनको उपचारको क्रममा न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा आज बिहान ७ बजे मृत्यु भएको हो ।
घाइतेलाई सुरुमा लाइफलाइन अस्पताल दमकमा सामान्य उपचारपश्चात थप उपचारको लागि न्युरो अस्पताल लगिएको थियो ।


ढुंगा प्रहार गर्ने लावतीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
