
बिर्तामोड, असार ८ । झापाको बिर्तामोड बसपार्कमा रहेको पाथिभरा सेन्टर फर एड्भान्स स्टडिज (पाथिभरा इन्जिनियरिङ कलेज) ले तीन वर्षे ओभरसियरका कक्षाहरु सञ्चालन गर्ने भएको छ ।


एसइइ उत्तीर्ण विद्यार्थीहरुका लागि कक्षा सञ्चालनमा ल्याइएको कलेजका प्रिस्निपल तथा प्रमुख कार्यकारी अधिकृत इन्जिनियर अनुज पराजुलीले जानकारी दिए ।

तीन वर्षदेखि स्नातक तहमा इन्जिनियरिङ विषयका कक्षाहरु सञ्चालन गर्दै आएको कलेजमा सिटिइभिटीका कक्षाहरु सञ्चालन हुने भएको हो ।

एसइइ उत्तीर्ण विद्यार्थीका लागि सिभिल ओभरसियर, कम्प्युटर ओभरसियर र इलेक्ट्रिकल ओभरसियर कक्षाहरु सञ्चालन हुने भएको हो ।
पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पाथिभरा इन्जिनियरिङ कलेज पूर्वको पहिलो र एक मात्र निजी इन्जिनियरिङ कलेज हो । कलेजमा सिभिल इन्जिनियरिङ र कम्प्युटर इन्जिनियरिङको कक्षा पनि सञ्चालन हुँदै आएको छ ।


कलेजका संस्थापक अध्यक्ष युवराज प्रसाईंका अनुसार तत्कालै ओभरसियर अध्ययनका लागि कलेजले विद्यार्थी भर्ना सुरु गर्नेछ । स्वरोजगारमुलक प्राविधिक शिक्षा लिन चाहने विद्यार्थीहरुलाई लक्षित गरी एसइइ उत्तीर्णपछि प्रवेश परीक्षासमेत दिनुनपर्ने उनले बताए ।

यो स्वरोजगारमुलक शिक्षा भएकाले यसको अध्ययन गर्दागर्दै रोजगारको ग्यारेन्टी हुने भएकाले अहिले विद्यार्थीको आकर्षण समेत बढेको उनले भनाइ छ ।

पूर्वमा निजी क्षेत्रमा पाथिभरा इन्जिनियरिङ कलेजले मात्र सिटिइभिटीबाट सम्बन्धन प्राप्त ओभरसियर पढाई सुरू गरेको प्रिन्सिपल पराजुलीले बताए । भर्ना शुल्क पनि सस्तो र छात्रवृत्ति समेत प्रदान गरिने भएकाले यसमा झापाका विद्यार्थीलाई विशेष प्राथमिकता दिएर पठनपाठन गरिने जनाइएको छ ।
प्राविधि शिक्षामा विद्यार्थीहरुको भविष्य सुरक्षित हुने र विदेश जानेहरुका लागि झनै महत्वपूर्ण हुने भएकाले अभिभावकहरुले समेत ध्यान दिनुपर्ने पराजुलीको धारणा छ ।
कलेजको सिट संख्या ४८ जना रहेकोले समयमै विद्यार्थी भर्नाका लागि आह्वान समेत गरिएको छ । अन्य विषय अध्ययन गरेरभन्दा प्राविधिक शिक्षामा जीवनको सुरक्षा हुने उनको भनाइ छ ।
१ लाख ८० हजार रुपैयाँमा ३ वर्षे कोर्स अध्ययनका लागि कलेजमा थप सुविधाहरुको समेत प्रबन्ध मिलाइएको छ । कलेजले अभ्यासका लागि आवश्यक सबै प्रकारका प्रविधिहरुको समेत खरिद गरेको जानकारी दिइएको छ ।