
बिर्तामोड, असार ९ । झापाको बिर्तामोडमा लम्पी स्किनका कारण पाँचवटा चौपाया मरेका छन् । पाँच सयभन्दा बढी चौपाया संक्रमित रहेको पशु प्राविधिकहरुले जनाएका छन् ।


दुई वर्षअघि महामारीकै रूप लिएर नियन्त्रणमा आएको लम्पी स्किन रोग बिर्तामोडमा फेरि फैलिएको हो । पछिल्लो दुई सातायता देखापरेको यो रोगका कारण चिन्तित बनाएको छ ।

बिर्तामोड ६ मा दुईवटा चौपायाले ज्यान गुमाएका छन् भने वडा नम्बर ५, ७ र ९ मा एकएकवटा चौपाया मरेको पुष्टि भएको छ । बिर्तामोड नगरपालिका–७ का ऋषिराज पौडेलको करिब पाँच महिनाको बहर लम्पी स्किनका कारण मरेको जनाइएको छ ।

लम्पी स्किनविरुद्धको खोप लगाउँदै हिँडेका प्राविधिकहरूले संकलन गरेको तथ्यांकअनुसार बिर्तामोडमा पाँच सयभन्दा बढी चौपाया संक्रमित भएका छन ्। टोलटोलमा यो रोगको संक्रमण देखिएपछि बिर्तामोडमा लम्पी स्किनविरुद्धको खोप अभियान सुरु गरिएको छ ।
खोप अभियान र निःशुल्क औषधि वितरण


नगरपालिकाको पशुपंक्षी तथा मत्स्य विकास शाखाका प्रमुख डक्टर नगेन्द्र खड्काका अनुसार बिर्तामोडको ६, ७ र ९ नम्बर वडामा खोप लगाइसकिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भद्रपुरबाट प्राप्त २५०० खोप लगाउने कार्य भइरहेको खड्काले जानकारी दिए ।

उनले नगरपालिकाले थप ९०० खोप खरिद गर्ने तयारी गरिरहेको र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले थप एक हजार खोप उपलब्ध गराउने बताए । बिर्तामोडमा करिब १५ हजारको संख्यामा पशु चौपाया रहेको अनुमान छ ।

त्यस्तै, पशुपंक्षी तथा मत्स्य विकास शाखाले लम्पी स्किन लागेका चौपायाका लागि निःशुल्क औषधि वितरण पनि गरिरहेको छ । शाखाका अधिकृत सावित्राकुमारी दाहालका अनुसार हालसम्म कार्यालयमा आएका ३२ जना किसानलाई औषधि वितरण गरिएको छ ।
प्राविधिकहरूले लामखुट्टे, झिंगा र किर्नाको टोकाइबाट गाईभैँसीमा सर्ने यो रोगप्रति विशेष सजगता अपनाउन सुझाव दिएका छन् । संक्रमित क्षेत्रमा अनुगमन र निगरानी भइरहेको प्राविधिकहरूको भनाइ छ ।
गाईभैँसीमा उच्च ज्वरो आउने, दाना–पानी कम खाने र दूध उत्पादन घटाउने जस्ता लक्षण देखिएपछि परीक्षण गर्दा लम्पी स्किन पुष्टि हुने गर्दछ । यस्ता लक्षण देखिएपछि पशुको शरीरमा घाउहरू पनि देखापर्छन् ।