
बिर्तामोड, असार ९ । बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १ अर्ब ५१ करोड ८३ लाख ८२ हजार रुपैयाँबराबरको बजेट प्रस्ताव गरेको छ । यो बजेट सामाजिक सुरक्षा भत्ताबाहेक हो ।


आजदेखि सुरु दोस्रो नगर सभाको सातौँ अधिवेशनमा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले सो बजेट प्रस्ताव गरेका हुन् ।
बजेटमा आगामी आर्थिक वर्ष २०८२/०८३ को विभिन्न शीर्षकमा प्राप्त हुन सक्ने रकमलाई आम्दानीको रुपमा प्रक्षेपण गरिएको छ ।

संघीय समानीकरणतर्फ २० करोड ३२ लाख, संघीय राजश्व बाँडफाँटतर्फ १४ करोड ७६ लाख, प्रदेश समानीकरणतर्फ १ करोड ९७ लाख ५२ हजार, प्रदेश राजश्व बाँडफाँट १ करोड ४५ लाख १४ हजार, आन्तरिक स्रोततर्फ २१ करोड, जग्गा रजिस्ट्रेसनतर्फ १२ करोड ५० लाख रुपैयाँ प्रस्ताव गरिएको छ ।

त्यस्तै, संघीय सशर्त कार्यक्रम ७६ करोड ३ लाख र प्रदेश सशर्त कार्यक्रम २ करोड ८० लाख १६ हजार र प्रदेश समपुरक १ करोड बजेट प्रस्ताव गरिएको छ ।
उपप्रमुख संग्रौलाले चालु आर्थिक वर्ष २०८१/०८२ को जेठ मसान्तसम्मको यथार्थ आयव्ययको विवरणसमेत प्रस्तुत गरेका छन् ।


चालु आर्थिक वर्षमा आन्तरिक राजश्व २० करोड ५० लाख अनुमानित गरिएकोमा २०८२ जेठ मसान्तसम्ममा १३ करोड ९६ लाख ८१ हजार ४२, घरजग्गा रजिस्ट्रेसनमा १२ करोड अनुमानित गरिएकोमा ८ करोड ५९ लाख ९५ हजार ९ सय ६०, त्यसैगरी संघीय समानीकरण १९ करोड ४८ लाख ६हजार ४८०, संघीय सशर्तमा २८ करोड ९ लाख ९ हजार १८०, संघीय विशेष अनुदान ५५ लाख ४५ हजार ६१, संघीय समपुरक १५ करोड ८० लाख २४ हजार १४५ र संघीय राजश्व बाँडफाँटबाट १० करोड ८६ लाख १९ हजार ९३५ रुपैयाँ प्राप्त भएको छ।

त्यस्तै, प्रदेश समानीकरणमा १ करोड ३ लाख २ हजार ७५०, प्रदेश सशर्तमा १ करोड ७१ लाख २९ हजार ९८९, प्रदेश समपूरकमा ४३ लाख ३३ हजार ३३३ र प्रदेश राजश्व बाँडफाँट १ करोड ४० लाख ३६ हजार ७९९ रुपैयाँ, जनसहभागिता ३ करोड ११ लाख ९५ हजार ४६१ समेत गरी जम्मा १ अर्ब ५ करोड ३५ लाख ८० हजार १३५ रुपैयाँ प्राप्त भएको जनाइएको छ ।

दोस्रो नगर सभाको सातौँ अधिवेशनको प्रथम बैठकमा नगरप्रमुख पवित्रा महतारा प्रसाईंले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।