बिर्तामोड, असार ९ । झापाको अर्जुनधारा नगरपालिका ६ स्थित कप्तानबारीदेखि दासपुल खण्डको बीच भागमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री घाइते भएका छन् । मोटरसाइकलमा सवार दुईजना पनि घाइते भएको प्रहरीले जनाएको छ ।


बिर्तामोड-शनिश्चरे सडकखण्डमा पर्ने उक्त स्थानमा आज साँझ भएको दुर्घटनामा बागमती प्रदेश ०२-०३९ प ५९८० नम्बरको मोटरसाइकलले एक पैदलयात्रीलाई ठक्कर दिएको हो। दुर्घटनामा मोटरसाइकलमा सवार दुईजना पनि घाइते भएका छन् ।

प्रहरीका अनुसार मोटरसाइकलले बाटो क्रस गर्दै गरेका पैदलयात्री स्थानीय ७२ वर्षीय विष्णुप्रसाद कोइराललाई ठक्कर दिँदा अनुहार, टाउको र बायाँ खुट्टाको नली हाडको भागमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको प्रहरी चौकी शनिश्चरेका इन्चार्ज उमेश श्रेष्ठले जनाएका छन् ।

यसैगरी, मोटरसाइकल चालक अर्जुनधारा-१ का ३६ वर्षीय रुपक खनालको बाहीरी चोट नदेखिए पनि छाती दुखेको र अवस्था सामान्य भएको जनाइएको छ। यस्तै, मोटरसाइकल पछाडि सवार खनालकी श्रीमती ३५ वर्षीया कविता दाहालको चोटपटक नदेखिए तर टाउको दुखेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाका घाइते तीनैजनाको मनमोहन अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ भने दुर्घटनामा परेको मोटरसाइकल शनिश्चरे प्रहरी चौकीमा राखिएको छ ।

