२०८२ असार १७ मंगलबार
Jhapa Today
Adv top

देशभर मनसुनी वायुको प्रभाव, झापामा सामान्य वर्षा


बिर्तामोड, असार १० । मनसुनी वायुको प्रभावले आज कोशी र बागमती प्रदेशका केही स्थान तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । हिजो राति देशका धेरै ठाउँमा सामान्यदेखि मध्यम वर्षा भएको छ ।

यद्यपि, झापाको आकाशमा बादल लागे पनि वर्षा हुन सकेको छैन । हिजो राति र बिहानको राति हल्का वर्षा भएको थियो । वर्षा नहुँदा झापामा धान रोपाइँ प्रभावित भइरहेको छ ।

कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको छ ।

कोशी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षासहित हिमपातको पनि सम्भावना रहेको छ ।

आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले यसका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Adv footer