
बिर्तामोड, असार १० । अमेरिकाबाट भुटान डिपोर्ट भएर भारत हुँदै नेपाल प्रवेश गर्दा तीन महिनाअघि झापामा पक्राउ परेका चार व्यक्तिलाई जरिवाना गराउने निर्णय भएको छ ।


अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा जरिवानासँगै कागजात पेश गरे भुटान निष्कासन गर्ने निर्णय भएको अध्यागमन विभागका प्रमुख गोविन्द रिजालले बताए ।

यद्यपि, भुटानको राहदानी वा यात्रा कागजात पेश नगरेसम्म तोकिएको स्थान हदभित्र रहनेगरी नेपालमै बस्न दिने समेत निर्णय भएको उनले जानकारी दिए ।

भारत हुँदै झापा आइपुगेका आशिष सुवेदी, सन्तोष दर्जी, रोशन तामाङ र अशोक गुरुङलाई २०८१ चैत १५ गते जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको थियो ।
प्रहरीले बिनाकागजात आएको आरोपमा पक्राउ गरेर उनीहरुलाई अध्यागमन कार्यालय काँकरभिट्टा मेचीनगरमा बुझाइदिएको थियो ।


आशिषका बुबा नारायणकुमार सुवेदीका अनुसार उनीहरुलाई अमेरिकाबाट डिपोर्ट गरेर नयाँ दिल्ली हुँदै भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलसम्म पु¥याइएको थियो ।

विमानस्थलमा उनीहरुको सबै कागजात जफत गरेका भुटानी अधिकारीहरुले २४ घन्टाभित्रै उनीहरुलाई भारतसँगको सीमा फुन्सोलिङमा छाडिदिएको थियो । त्यसपछि ३० हजार रुपैयाँसहित उनीहरुलाई भारत हुँदै नेपाल जान भन्दै ट्याक्सी चढाइएको थियो ।
त्यसपछि काँकरभिट्टा नाका हुँदै उनीहरु नेपाल प्रवेश गरेका थिए । झापामा पक्राउ परेपछि आशिषका बुबा नारायणले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन समेत दिएका थिए ।
निवेदनमाथि सुनुवाइ गर्दै अदालतले बैशाख १२ गते चारैजनालाई थुनामुक्त गर्ने आदेश दिएको थियो भने उनीहरुलाई स्थान हद तोकेर प्रहरी कार्यालयबाट स्थानान्तर गर्न र ६० दिनभित्र अनुसन्धान गर्न आदेश दिएको थियो ।
अध्यागमन ऐन २०४९ मा भएको व्यवस्थाअनुसार यो निर्णय गरिएको रिजालले बताए । उनले भने, ‘जरिवाना समेत अधिकतम ५० हजार गर्ने व्यवस्था छ ।’
सन् १९९० देखि भुटानबाट लखेटिएर आएका व्यक्तिहरु भारत हुँदै नेपाल प्रवेश गरेर झापा र मोरङमा बसेका थिए । सरकारी तथ्यांकअनुसार तेस्रो मुलुक पुनर्बासअघि यसरी आउनेको संख्या करिब १ लाख २० हजार पुगेको थियो ।
तीमध्ये सन् २०१८ सम्ममा १ लाख १३ हजार ३०७ जना तेस्रो मुलुक पुनस्र्थापना भएका थिए । त्यही कार्यक्रमअन्तर्गत यी चारजना समेत अमेरिका पुगेका थिए ।
तर, त्यहाँ उनीहरु प्रहरीको संलग्नता हुने विवादमा मुछिएपछि केही समय हिरासतमा राखिएर डिपोर्ट भएका थिए । विगतमा भुटानी शरणार्थीका रुपमा दर्ता भएका ६ हजार ५७७ जना अझै झापाको शरणार्थी शिविरमा छन् ।