
बिर्तामोड, असार ११ । झापाको १५ वटा स्थानीय तहले १३ अर्ब १८ करोड ६६ लाख १२ हजार ६९१ रुपैयाँको अनुमानित बजेट ल्याएका छन् ।


आगामी आर्थिक वर्ष २०८२/८३ का लागि जिल्लाका ८ नगरपालिका र ७ गाउँपालिकाले आआफ्नो सभामार्फत तुलनात्मक नीति, कार्यक्रम तथा बजेट ल्याएका हुन् ।

सबैभन्दा धेरै बजेट ल्याउने नगरपालिकामध्ये मेचीनगर नगरपालिकाले एक अर्ब ५२ करोड ६ लाख ५८ हजार ४३९ रुपैयाँको बजेट प्रस्तुत गरेको छ । त्यसपछि बिर्तामोड नगरपालिकाले एक अर्ब ५१ करोड ५३ लाख ५३ हजार रुपैयाँ र दमक नगरपालिकाले एक अर्ब ४५ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

त्यस्तै, अर्जुनधाराले ९५ करोड ९ लाख २९ हजार, शिवसताक्षीले ९१ करोड ४२ लाख, गौरदाहले ८४ करोड ३४ लाख २२ हजार २८२ रुपैयाँ, भद्रपुरले ८० करोड ५ लाख २८ हजार र कनकाईले ७० करोड ५९ लाख २५ हजार अनुमानित बजेट ल्याएको छ ।
गाउँपालिकामध्ये सबैभन्दा धेरै बजेट कमल गाउँपालिकाले ल्याएको छ । कमलले ७२ करोड ८२ लाख १२ हजार ३६ रुपैयाँको बजेट ल्याएको हो । त्यस्तै, सबैभन्दा कम बजेट हल्दिबारी गाउँपालिकाको रहेको छ । हल्दिबारीले ४९ करोड ७७ लाख ७१ हजार रुपैयाँ बजेट ल्याएको छ ।


त्यस्तै, कचनकवलले ६६ करोड १९ लाख ७९ हजार ५३० रुपैयाँ, बाह्रदशीले ५५ करोड १८ लाख ३८ हजार ६ सय रुपैयाँ, बुद्धशान्तिले ६७ करोड ६७ लाख ३६ हजार ८ सय रुपैयाँ, गौरीगञ्जले ५३ करोड ८६ लाख ९६ हजार ४४० रुपैयाँ र झापा गाउँपालिकाले ५१ करोड ४२ लाख ४३ हजार ५६४ रुपैयाँ अनुमानित बजेट ल्याएको छ ।

पालिकाका जनप्रतिनिधिहरूले पारदर्शिता, प्रभावकारी खर्च र दीर्घकालीन योजनाहरूको कार्यान्वयनमा जोड दिँदै नीति तथा कार्यक्रम पेस गरेका थिए ।

पालिकाहरूले आआफ्नो नीति तथा कार्यक्रममा पूर्वाधार, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेका छन् ।