
बिर्तामोड, असार १२ । झापा गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि गौरवका आयोजनाअन्तर्गत सडक कालोपत्रका लागि ३ करोड ५० लाख बजेट विनियोजन गरेको छ ।

झापा गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरेको बजेटमा गौरवका आयोजनाअन्तर्गत सडक पूर्वाधार सुधारमा जोड दिँदै ३ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको हो ।

गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अञ्जुदेवी थपलियाका अनुसार आगामी आर्थिक वर्षको बजेटमा सातवटा सडकका लागि साढे तीन करोड रुपैयाँ विनियोजना गरिएको बताइन् ।

सातवटै सडकलाई समान ५० लाख रुपैयाँका दरले बजेट विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलियाले जानकारी दिए ।

योजनाअन्तर्गत सालामारा–लसुना सडक, झापा बजार–उत्तर गणेशथान–उत्तम सुवेदी घरसम्म, नन्दकिशोर सुवेदीको घर दक्षिण नमुना प्रावि हुँदै चियाबगानसम्मको सडक, हुलाकी सडक–दक्षिण पेचकार बस्तीसम्म कालोपत्र हुनेछ ।


त्यस्तै, रामजानकी मन्दिर–बैशाखुको घर–पन्थापाडा जाने पिचसम्म, दुर्गाचोक–हनुमानचोक सडक, मदरगाछ बजार–जनमघुटु–वडा नम्बर ७ कार्यालयसम्मको सडक आगामी आर्थिक वर्षमा कालोपत्र हुने अध्यक्ष थपलियाले बताइन् ।

गाउँपालिकाको १८ औँ गाउँसभाले आगामी आर्थिक वर्षका लागि ५१ करोड ४२ लाख ४३ हजार ५६४ रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।