बिर्तामोड, असार १२ । झापा बिर्तामोड घर भएकी एक महिलालाई सासूले उपचार नगराई घरबाट निकाल्दा मृत्यु भएको भन्दै माइती पक्षले कारबाहीको मागसहित उजुरी दिएका छन् ।

घरबाट निकालिएकी बितामोड नगरपालिका–३ बस्ने सुमित विककी श्रीमती २४ वर्षीया सरिता विकको आज माइती घर सुनसरीको रामधुनी नगरपालिका–७ कुमारखतमा मृत्यु भएको हो ।

सरितालाई उनको सासू राधिका गजमेरले तीन दिनअघि घरबाट निकालेर माइत पुर्याएर आएकी थिइन् । सरिता रिङ्गटा लाग्ने, टाउको दुख्ने बिरामी भई उपचारको लागि उनको सासू राधिकाले विर्तासिटी अस्पताल बिर्तामोडमा लगेर जाँच गराउँदा अवैध सम्बन्धबाट डेढ महिनाको गर्भवती देखिएको थियो ।

त्यसपछि सासूले उनलाई घरबाट निकालेर माइत पुर्याएकी थिइन् । सरिताका श्रीमान् विगत दुई वर्षदेखि दुबईमा रहेका छन् । सरिताको मृत्युपछि माइती पक्षले अनुसन्धान र कारबाहीको माग गर्दै उजुरी दिएको इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले बताए ।

उनले कानुनी प्रक्रिया पूरा गरी मृतकको शवलाई पोस्टमार्टमको लागि बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाइएको जानकारी दिएका छन् ।


सरिताको मृत्यु हुनु एक दिनअगावै माइती पक्षले हिजो इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी दिएका थिए । माइती पक्षले हिजो ठाडो निवेदन दिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी विजय श्रेष्ठले जानकारी दिए । मृतकको पोस्टमार्टम रिपोर्ट आएपछि कानुनी कारबाही अघि बढाइने उनको भनाइ छ ।
