
बिर्तामोड, असार १३ । झापासँग सीमा जोडिएको भारतको बिहार राज्यको किसनगञ्जका तीन दाजुभाइ नेपालमा लागुऔषध कारोबारमा संलग्न रहेको विभिन्न आधारहरु भेटिएका छन् ।

नेपालका प्रहरीसँग मिलेर उनीहरुले संगठित रुपमै झापाका विभिन्न स्थानमा लागुऔषध कारोबार गर्दै आएको घटना विवरणहरुले देखाएको छ ।

झापा हुँदै लागुऔषध नेपाल भित्र्याउन उनीहरुले नेपालका प्रहरीहरुसँग राम्रै उठबसको वातावरण बनाएको स्रोत बताउँछ । उनीहरुलाई लागुऔषध छिराउन बाटो सजिलो बनाइदिने काम नेपालतिरका प्रहरीकै रहेको स्रोतको भनाइ छ ।

किसनगञ्जको कुर्लिकोट निवासी आर्यन भनिने ३० वर्षीय सुभान अलीलाई उनका दुई भाइहरु डाक्टर भनिने तहसिन र साजिदले लागुऔषध कारोबारमा सहयोग गर्ने गरेका छन् ।

आर्यन ब्राउनसुगर डेलिभरी गर्ने काममा अग्रपंक्तिमा देखिएका छन् । उनले ब्राउनसुगर ल्याउने र आफ्नो घरमा ५० र १०० ग्रामको प्याकेट बनाएर गलगलिया, ठाकुरगञ्ज, बतासी, खोरीबारी पानीट्याङ्की र नेपालको बिर्तामोड, बनियानी, भद्रपुर क्षेत्रमा बेच्न पठाउने गरेका छन् ।


आर्यन ब्राउनसुगर तस्करीको आरोपमा जेल गएका व्यक्ति हुन् । उनलाई खोरीबारी प्रहरी चौकीको मुद्दा नम्बर ३६/२४ मिति १० फेब्रुअरी २०२४ मा एनडिपिएस को धारा २१(सि)/२२(सि) अन्तर्गत जेल पठाइएको थियो ।

यसबाहेक, खोरीबारी प्रहरी चौकीको मुद्दा नम्बर १६७/२४ मिति १०.०६.२४ मा उनीविरुद्ध युएक/एनडिपिएस ऐन ४१६–२१ (सि), २२ (सि), २९ (०१) अन्तर्गत मुद्दा दर्ता गरिएको छ । तर, हाल उनलाई कलकत्ता उच्च अदालतले जमानत दिएको छ ।
गत अप्रिल २०२४ मा कुर्लिकोट प्रहरी चौकीले ब्राउनसुगरको अवैध तस्करी गर्ने एक व्यक्तिलाई पक्राउ गरी सोधपुछका क्रममा तहसिनले विगत धेरै महिनादेखि ब्राउनसुगर खरिद गरिरहेको खुलासा भएको थियो ।
यी तीन दाजुभाइ अहिले नेपालका सुरक्षा निकायका व्यक्तिसँग राम्रो हिमचिम बढाएर बिर्तामोड, धुलाबारी, काँकरभिट्टा, दमक, सुरुङ्गा, बनियानी, भद्रपुर हुँदै राजधानी काठमाडौँ तथा लगभग देशका मुख्य सहरहरूमा प्रतिबन्धित ब्राउनसुगरको ‘सप्लाइ चेन’ बनाउन सफल भएको बुझिएको छ ।