२०८२ असार १३ शुक्रबार
Jhapa Today
Adv top

झापाका सुनचाँदी व्यवसायीद्वारा विलासिता करको विरोधमा प्रदर्शन


बिर्तामोड, असार १३ । झापाका सुनचाँदी व्यवसायीहरूले सदरमुकाम चन्द्रगढीमा विरोध र्‍याली निकालेर प्रदर्शन गरेका छन् । आज संयुक्त र्‍याली आयोजना गरेर उनीहरुले कोणसभा गरेका हुन् ।

नेपाल सुनचाँदी व्यवसायी संघ झापाका अध्यक्ष रमेश विश्वकर्माका अनुसार सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर खारेजीको माग गर्दै सुनचाँदी व्यवसायी आन्दोलित भएका हुन् ।

व्यवसायीले पसल बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । त्यस्तै, आन्दोलनका कार्यक्रमअनुसार सम्पूर्ण पसल तथा व्यवसायहरु अनिश्चितकालीन बन्द गरिएको अध्यक्ष विश्वकर्माले जानकारी दिए ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको नेतृत्वमा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघ सुनमा लगाइएको विलासिता कर खारेजीको माग गर्दै आन्दोलनमा उत्रिएका छन् ।

नेपाल सुनचाँदी व्यवसायी संघ झापाको नेतृत्वमा व्यवसाय बन्द गरेर आफूहरू सडकमा आएको अध्यक्ष विश्वकर्माले बताए । यसअघि सुनचाँदी व्यवसायीको टोलीले झापाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइसकेका छन् ।

सरकारले बजेटमार्फत सुन तथा सुनका गरगहनामा २ प्रतिशत विलासिता कर लागु गर्ने घोषणा गरेको थियो । बजेटमार्फत हिरा तथा बहुमूल्य पत्थरमा १३ प्रतिशतको मूल्य अभिवृद्धि कर समेत सरकारले घोषणा गरेको छ ।

आगामी आर्थिक वर्ष २०८२/८३ को आर्थिक विधेयकमार्फत सरकारले सुनमा लगाएको २ प्रतिशत विलासिता कर र हिरामा लगाएको १३ प्रतिशत मूल्य अभिवृद्धि करको विरुद्धमा व्यवसायी आन्दोलनमा छन् ।

Adv footer