२०८२ असार १३ शुक्रबार
Jhapa Today
Adv top

एसइइको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत विद्यार्थीले कक्षा ११ पढ्न पाउने


बिर्तामोड, असार १३ । २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइइ) को नतिजा प्रकाशन भएको छ ।

परीक्षामा ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । अर्थात ६१.८१ प्रतिशत विद्यार्थीले कक्षा ११ पढ्न पाउने छन् ।

बोर्डका अध्यक्ष महाश्रम शर्माले यस वर्ष एसइइमा ग्रेडेड हुनेको प्रतिशत ६१.८१ रहेको बताएका हुन् । गत वर्षको तुलनामा यस वर्षको नतिजामा उल्लेख्य सुधार देखिएको छ । गत वर्ष ग्रेडेड हुनेको संख्या ४८ प्रतिशत थियो ।

बोर्डका अनुसार नियमिततर्फ जिपिए ३.६० देखि ४.० ल्याउनेको संख्या ४८ हजार १७७ रहेको छ ।

गत वर्ष चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी थिए ।

झापामा १७ हजार २८ जना विद्यार्थी सहभागी थिए । जसमा छात्रातर्फ ८ हजार ७८४ तथा छात्रतर्फ ८ हजार २४४ परीक्षार्थी थिए ।
झापामा नियमिततर्फ ७ हजार ७९३ छात्रा तथा ७ हजार ४०८ छात्र गरी १५ हजार २०१ जना सहभागी थिए । ग्रेडवृद्धितर्फ ९९१ छात्रा तथा ८३६ छात्र गरी १ हजार ८२७ परीक्षार्थी सहभागी थिए ।

प्राविधिक धारतर्फ २३९ छात्रा तथा २८३ छात्रा गरी कुल ५२२ परीक्षार्थी सहभागी थिए । झापाका १३१ सामुदायिक तथा २३९ संस्थागत गरी ३७० विद्यालयका विद्यार्थीहरु एसइइमा सहभागी भएका थिए ।

Adv footer