
बिर्तामोड, असार १५ । मिस्टर एन्ड मिस रोयल झापा सिजन–२ को उपाधि भद्रपुर–८ की प्रेन्सी ओली र बिर्तामोड–५ का पेसल निरौलाले जितेका छन् भने सुपर लिटल प्रिन्स एन्ड प्रिन्सेस २०२५ को उपाधि श्रेयन्स चौधरी र एन्जल लिङदेनले हात पारेका छन् ।


झापाको बिर्तामोडमा पिसिएस प्रोडक्सन इन्टरटेन्टमेन्टको आयोजना भएको यी दुई प्रतियोगितामा उनीहरुले उपाधि हात पारेका हुन् । गत असार ७ गते भएको प्रतियोगिताको बिर्तामोडमा पत्रकार सम्मेलन गरी पिसिएस प्रोडक्सनका प्रबन्ध निर्देशक चेतनसिंह बस्नेतले जानकारी दिए ।

बालबालिका तथा युवायुवतीको प्रतिभा विकास, आत्मविश्वास र नेतृत्व क्षमतामा सक्षम बनाउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको उनले बताए ।

प्रतियोगितामा विजेताहरुले उपाधिसँगै तीन लाख रुपैयाँबराबरको उपहार पाउने बस्नेतले बताए । साथै, उनीहरूलाई अन्तर्राष्ट्रिय प्लेटफर्ममा सहभागी हुन गेटवे टिकट पनि उपलब्ध गराइने उनले बताए ।
मिस्टर एन्ड मिस रोयल झापा सिजन–२ को उपविजेता दिपिका माझी र साम्राज्ञी थपलिया, भ्युवर च्वाइज दिपिका माझी, मल्टिमिडिया अवार्ड आइसिका चाम्लिङ राई, अर्गनाइजर च्वाइज दिजेस थापा मगर र ब्रान्ड एम्बेसेडर सुहाना थापा भएका छन् ।


त्यस्तै, सुपर लिटल प्रिन्स एन्ड प्रिन्सेस २०२५ को उपविजेता अंशु लिम्बू, प्रनिसा बराल, भ्युवर च्वाइज श्रेयान्स चौधरी, मल्टिमिडिया अवार्ड युमा पोखरेल, अर्गनाइजर च्वाइज श्रेयस्क खनाल र ब्रान्ड एम्बेसेडर एमिई श्रेष्ठ भएका छन् ।

विजयी प्रतियोगीहरुले ४० दिने प्रशिक्षण दिइएको थियो । विजेताहरुले प्रतियोगितामा सहभागी भएपछि धेरै कुरा सिक्नुका साथै आत्मविश्वास बढेको बताएका छन् ।
प्रतियोगितामा ७ देखि १४ वर्ष र १४ र २१ वर्ष गरी दुई उमेर समूहमा ५० जनाले प्रतिस्पर्धा गरेका थिए । झापाका तीन स्थानमा भएको अडिसनमा एक सयजनाले प्रतियोगितामा सहभागिता जनाएका थिए ।
प्रोडक्सनले हालसम्म आठवटा सौन्दर्य प्रतियोगिता र थुप्रै सहकार्यात्मक कार्यक्रमहरू गरेको संस्थाका सिइओ पुकार कार्कीले बताए । संस्थाले प्राप्त गरेको लाभको केही हिस्सा सामाजिक कार्यमा पनि लगानी गर्दै आएको उनले बताए ।