
-विनिशा शर्मा गौतम
बिर्तामोड, असार १६ । नगरपालिकाले अनुदानमा सामग्री सहयोग र निःशुल्क प्राविधिक तालिम दिएपछि बिर्तामोडका कृषकहरु आत्मनिर्भर बन्दै गएका मात्र छैनन्, व्यावसायिक कृषि पेसामा लागिपरेका पनि छन् ।


खासगरी तरकारी खेती गर्दै आएका कृषकहरु मासिक ८० हजार रुपैयाँसम्म औसतमा आम्दानी गर्दै आएको बताउँछन् । बिर्तामोड-९ मा व्यावसायिक तरकारी खेती गर्दै आएका योगेन्द्र श्रेष्ठ बेमौसमी तरकारी खेतमा व्यस्त छन् । उनको आम्दानीको मुख्य र एक मात्र स्रोत तरकारी खेती हो ।

तरकारी उत्पादनपछि बिक्रीको समस्या नहोस् भनेर नगरपालिकाले समर्थन मूल्य तोकिदिएको छ । समर्थन मूल्यभन्दा कम मूल्यमा बेच्नु परेको खण्डमा नगरपालिकाले व्यभार बोक्ने गरेको छ ।

आलु, प्याज, बोडी, भिन्डी लगायतका तरकारीको खेती गर्दै आएका श्रेष्ठले बीऊ उत्पादनको कार्यक्रम पनि गर्दै आएका छन् । थोरै क्षेत्रफलमा पनि उत्पादन धेरै गर्न सकिने उनको अनुभव छ । नगरपालिकाले बनाएको ‘पारीको होइन बारीको’ भन्ने नारा तथा लक्ष्य सकरात्मक रहेको श्रेष्ठको बुझाइ छ ।
बेमैसमी तरकारी खेती गर्दै आएका बिर्तामोड-७ का काशीराम रिजाल बिर्तामोड नगरपालिकाको अनुदान सहयोगपछि आफू व्यावसायिक तरकारी खेतीमा लागेको बताउँछन् । नगरपालिकामार्फत आधुनिक कृषि खेतीमा प्रविधिको प्रयोगले तरकारी खेती गर्न सहज भएको उनको अनुभव छ ।


गत हिउँदमा उनले फर्सी बेचेरै मात्र पाँच लाख रुपैयाँ आम्दानी गरे । उनले टमाटर र बोडीको खेती पनि गर्दै आएका छन् । अहिले उनी बोडी उमार्ने, लहरा लगाउने र टिप्ने काममा बारीमै भेटिन्छन् ।

बिर्तामोड ८ का गोविन्द गौतम सात वर्षदेखि आलु, करेला, भिन्डी, बोडी र क्याप्सिकनको खेती गर्दै आएका छन् भने आलुको बीऊ उत्पादन र गड्यौले मल उत्पादन गर्दै आएका छन् ।
नगरपालिकाको सहयोगमा प्राप्त कृषि औजार, बीऊ तथा प्राविधिक ज्ञानले तरकारी उत्पादनमा धेरै नै सहयोग भएको गौतम बताउँछन् । बजारसम्मको पहुँचका लागि पनि नगरपालिकाले पसलहरु सञ्चालन गरेर सहजता बनाइदिएको गौतम सुनाउँछन् ।
बिर्तामोड नगरपालिकाका कृषि अधिकृत राजेन्द्रप्रसाद कडरियाका अनुसार हालसम्म ८५२ वटा मोटर बोरिङ स्थापना गरेर दुई हजार ५५६ बिघा जमिनमा सिँचाई सुविधा उपलब्ध गराइएको छ ।

तीन हजार हेक्टरभन्दा बढी कृषि क्षेत्र रहेको बिर्तामोडमा हालसम्म २४१ वटा कृषक समूहहरु नगरपालिकामा दर्ता भएर सञ्चालनमा आएका छन् ।
नगरपालिकाले हालसम्म कृषकहरुलाई १६ वटा पावर टिलर, १८ वटा मिनि टिलर, १५२ वटा मकै छोडाउने मेसिन र २८ वटा धान काट्ने मेसिन साझेदारीमा प्रदान गरेको कडरियाले बताए ।

त्यस्तै, मेयर विषादीमुक्त नगर कार्यक्रमअन्तर्गत हालसम्म १४२ जना कृषकहरु संलग्न भएका छन् । उनीहरुले विषादि न्यूनीकरण गरिएका तरकारीहरुको व्यावसायिक उत्पादन गरिरहेका छन् ।

कृषकहरुमध्ये ६२ जना कृषकहरु हिउँदे तरकारी उत्पादनमा संलग्न रहेका छन् भने ८० जना कृषकहरु हिउँदे र वर्षे दुवै सिजनमा व्यावसायिक तरकारी उत्पादन गरिरहेका छन् ।
बिर्तामोडमा ३२ समूहहरुमा तोरी खेती र ४० वटा समूहहरुमा आलु खेतीको उत्पादन सञ्चालन भइरहेको छ । नगरभित्र १५५ बिघा क्षेत्रफलमा आलु र ४३० बिघा क्षेत्रफलमा तोरीको व्यावसायिक उत्पादन भइरहेको कृषि अधिकृत कडरिया बताउँछन् ।