२०८२ भदौ २५ बुधबार
Jhapa Today
Adv top

शिवसताक्षीका थापाको शंकास्पद मृत्यु !


दमक, असार १७ । झापा शिवसताक्षीका एकजना किशोरको मृत्यु कसैको आक्रमणबाट भएको हुन सक्ने परिवारका सदस्यले आशंका गरेका छन् । त्यसै कारण उनको दाहसंस्कार गरिएको छैन ।

शिवसताक्षी-९ का १९ वर्षीय रोमन थापाको मृत्यु शंकास्पद देखिएपछि दाहसंस्कारको तयारी रोकेर शवलाई पोस्टमार्टमको लागि बिपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

असार १४ गते बिहान बिरामी भएका उनलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड लगिएको थियो । त्यहाँ उपचारका क्रममा बिहान १०ः३० बजे उनको मृत्यु भएको थियो । सोही दिन शव आफन्तले घरमा ल्याएका थिए ।

भोलिपल्ट दाहसंस्कार गर्नको लागि तयारी गर्दा रोमनको केही दिनअगाडि पहिचान खुल्न नसकेका व्यक्तिहरुसँग झगडा भएको र सोही झगडामा कुटपिट भएको भन्ने अपुष्ट खबर प्राप्त भएको थियो ।

त्यो कुरा सुनेर परिवारले शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएका थिए । तर, प्रादेशिक अस्पतालले पोस्टमार्टम गर्न असमर्थता जनाएपछि शव धरान लगिएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक प्रवीण श्रेष्ठले जानकारी दिए ।

उनले अहिलेसम्म कोहीविरुद्ध पनि उजुरी नपरेको र उजुरी परेपछि कारबाही अघि बढाइने जानकारी दिए । पोस्टमार्टम रिपोर्ट नआएसम्म परिवारले रोमनको अन्त्येष्टि नगर्ने जनाएका छन् ।

घटनामा रोमनसँगै रहेका अर्का युवक आदित्य तामाङ पनि गम्भीर अवस्थामा अस्पतालको भेन्टिलेटरमा उपचाररत छन् । राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयमा अध्ययनरत आदित्य र रोमन मिल्ने साथी हुन् ।

उनीहरू नियमित रूपमा गाउँकै खेतको छेउमा फुटबल खेल्ने गर्थे । बर्खा लागेपछि खेल मैदान हिलो भएर प्रयोग गर्न नमिल्ने भएपछि उनीहरू अन्य स्थानमा फुटबल खेल्न जाने गरेका थिए ।

तामाङको अवस्था पनि अत्यन्त गम्भीर रहेको बताइएको छ । बिएन्डसी अस्पतालको भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको छ । रोमनजस्तै समान लक्षण देखिएको र अहिले पनि अर्धचेत अवस्थाले घटनाको गम्भीरता झन् बढाएको छ ।

Adv footer