२०८२ असार १७ मंगलबार
Jhapa Today
Adv top

बाल संगठन झापाको सभापतिमा भद्रपुरका पूर्व नगरप्रमुख श्रेष्ठ


भद्रपुर, असार १७ । नेपाल बाल संगठनले बाल संगठन तदर्थ समिति झापाको सभापतिमा भद्रपुर नगरपालिकाका पूर्व नगरप्रमुख जीवनकुमार श्रेष्ठ चयन भएका छन् ।

नेपाल बाल संगठनको केन्द्रीय कार्यसमितिको २०८२ असार ४ गतेको निर्णयले संगठनको विधान २०४९ बमोजिम भद्रपुर नगरपालिकाका पूर्वप्रमुख श्रेष्ठलाई तदर्थ जिल्ला कार्यसमिति झापाको सभापति पदमा मनोनयन गरेको हो ।

तदर्थ समितिका सभापति श्रेष्ठलाई सदस्य थप गरी कार्य विभाजन गर्न, सदस्यता विस्तार गर्न र ३ महिनाभित्र जिल्ला सभाको अधिवेशन गरी जिल्ला कार्यसमिति गठन गर्ने जिम्मेवारी प्रदान गरिएको छ ।

श्रेष्ठ भद्रपुर साइकल समाजका संस्थापक अध्यक्ष तथा भद्रपुर झापा गोल्डकपका संस्थापक महासचिव हुन् । उनी कबड्डीका अन्तर्राष्ट्रिय खेलाडी हुन् ।

संगठनले श्रेष्ठलाई पठाएको पत्रमा, बाल संगठन र बाल मन्दिरको नाममा रहेको चलअचल सम्पत्तिको व्यवस्थापन र उचित संरक्षण गर्न तथा संरक्षणविहीन बालबालिकालाई संरक्षकत्व प्रदान गर्दै बाल हितका कार्यमा उल्लेखनीय योगदान पुग्ने अपेक्षा गरिएको छ ।

अनाथ र असहाय बालबालिकाको संरक्षणका लागि २०२१ सालमा खुलेको बाल संगठनका ६८ जिल्लामा कार्यालय छन् । झापाको कार्यालय भद्रपुरमा रहेको छ ।

झापामा बाल मन्दिरका नाममा ८ बिघा जमिन र आफ्नै भवन रहे पनि त्यसबाट असहाय र अनाथ बालबालिकाले फाइदा पाउन सकेका छैनन् ।

भद्रपुर–८ स्थित बाल मन्दिर विद्यालयको भवनमा २०६५ देखि जिल्ला शिक्षा कार्यालयअन्तर्गतको बाल विकास केन्द्र सञ्चालनमा छ ।

तर, न्यून संख्यामा रहेका त्यहाँका बालबालिकालाई सामुदायिक विद्यालयमा सञ्चालित बाल कक्षा सरहको हेरचाह र खाजा मात्र दिने गरिएको छ ।

Adv footer