२०८२ असार १९ बिहीबार
Jhapa Today
Adv top

सीप सिकेर स्वरोजगार बन्दैछन् मेचीनगरका महिला


-विनिता गौतम (विनिशा शर्मा)
मेचीनगर, असार १८ । महिलाले घरको कामकाज मात्र सम्हाल्नुपर्छ, बाहिर काम गर्नु हुँदैन, छोरी बाहिर गएर काम गरे बिग्रन्छन्, समाजले के भन्छ ? बिहे नभएका छोरी भए बिहे नहुने डर, बिहे भएका बुहारी भए पोइला जान्छे भन्ने कथन, बाहिर निस्केर काम गरी भने भन्ने हाम्रो पुरुषप्रधान समाजमा कुनै समय थियो ।

महिलाले भोग्नु परेका यस्ता अनेकौँ पीडा छन् । पति बाहिर काम गरेर पैसा कमाउने र घरको खानानाना, छोराछारी पढाउनुपर्ने जिम्मेवारी । पत्नीले सबै खर्च पतिको भर पर्नुपर्ने बाध्यता बनाइदिएको छ । पैसा माग्दा तिमीले कमाएकी छौ र भन्ने जवाफ आउँदा महिलालाई कति असर परेका होला ? पैसाको विषयमा कुरा हुँदा महिलालाई कुटपिट गर्ने, डर देखाउने, धम्काउने माइतीको दाइजो खोज्नेलगायतका हिंसा सबैका घरघरका कथा हुन् ।

यस्तो समाजबाट हामी बाहिर निस्कनु पर्छ, अवसर पाए महिलाहरु पनि काम गर्न सक्छन् भन्ने लक्ष्य राखेर मेचीनगरले महिला लक्षित कार्यक्रमहरु प्राथमिकतामा राखेको छ । महिलाले घरको काम सम्हालेर पनि अरु काम गर्न सक्छन् र आत्मनिर्भर बन्नसके सधैँ महिलाले हिंसा सहन बाध्य हुनुपर्दैन भनेर मेचीनगरले विगत केही वर्षदेखि महिलालाई लक्षित गर्दै विविध सीप विकास तालिम सञ्चालन गर्दै आएको नगरप्रमुख गोपाल बुढाथोकी बताउँछन् ।

पछिल्लो पुस्ता कृषिमा आधारित समाजबाट क्रमशः उद्यमशीलता र व्यवसायतर्फ रूपान्तरण भइरहेको मेचीनगरमा महिलाहरूको सहभागिता उल्लेखनीय रूपमा बढ्दो छ । यस्ता परिवर्तनहरूमा नगरपालिकाले महिला उद्यमशीलता प्रवद्र्धनमा खेलेको भूमिकालाई महत्वपूर्ण मान्न सकिन्छ ।

मेचीनगर नगरपालिकाले महिलालाई आत्मनिर्भर, सशक्त र स्वरोजगारमुखी बनाउने उद्देश्यले विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ । यी कार्यक्रमहरूले स्थानीय महिलामा आत्मबल, सीप र आर्थिक क्षमता विकासमा उल्लेखनीय योगदान पु¥याएका छन् । हरेक आर्थिक वर्षमा दर्जनौँ महिला समूह तथा इच्छुक महिलालाई सिलाई–कटाई, ब्युटी पार्लर, अचार तथा खाद्य प्रशोधन, फेस मास्क उत्पादन, बाख्रापालन, हाँसपालन, च्याउखेती, बेकरी तालिम आदि प्रदान गर्दै आएको नगरप्रमुख बुढाथोकी बताउँछन् ।

महिला उद्यमीको अवस्था
हाल मेचीनगरमा सक्रिय व्यावसायिक महिला उद्यमीको संख्या बढ्दै गएको महिला शाखाले जनाएको छ । तालिमपछि महिलाका १६ वटा व्यवसाय दर्ता भएर सञ्चालनमा रहेका छन् । जसमा १०० जनाभन्दा धेरैले रोजगार पाएका छन् । केही महिलाहरु घरमा नै थोरै समय व्यवस्थापन गरेर पनि सामग्री तयार गरी गाउँघरमा नै बिक्री गरिरहेका छन् ।

त्यस्तै, राष्ट्रपति महिला सशक्तीकरण परियोजनाले वार्षिक रुपमा प्रत्येक वडाबाट २ जनाको दरले ३० जना महिला उद्यमी उत्पादन गरिरहेको छ र उनीहरु रोजगार बनिसकेको महिला तथा बालबालिका शाखाकी अधिकृत जयन्ती खरेलले जानकारी दिइन् ।

आगामी दिनमा महिला उद्यमीहरूको साझा सञ्जाल बनाउने नगरपालिकाको योजना रहेको छ । त्यसले उनीहरूलाई एकआपसमा सहयोग र अनुभव साटासाट गर्न सहयोग गर्छ । यसले गर्दा उनीहरुमा प्रोत्साहित हुने र केही समस्याहरु भएमा छलफलबाट समाधान निकाल्न सहज हुने अनुमान गरिएको छ ।

सीप विकास तालिम
मेचीनगरले विगत केही वर्षदेखि महिलालाई लक्षित गर्दै विविध सीप विकास तालिम सञ्चालन गर्दै आएको छ । हरेक आर्थिक वर्षमा दर्जनौँ महिला समूह तथा इच्छुक महिलालाई वडाअन्तर्गत रहेका टोल विकास संस्थाहरुमा गएर फिनेल, सरफ, नुहाउने निमपत्ताको साबुन बताउने तालिम नगरपालिकाले विगतका वर्षहरुदेखि नै गर्दै आएको छ । सिलाई–कटाई, ब्युटी पार्लर, अचार, ढाका बुन्ने, धुप, मकैको खोस्टाको फूल, दुबोको माला बनाउने, परालको जुत्ता चप्पल बनाउने लगायतका तालिम प्रदान गर्दै आएको छ ।

त्यस्तै, नगरको गौरवका योजनामध्ये ग्रामीण क्षेत्रका महिलाहरूलाई सीप सिकाएर उद्यमशीलता बनाउने लक्ष्यका साथ मेचीनगर नगरपालिकाले महिला सीप विकास केन्द्रको निर्माण गरेको छ । संघीय सरकार, प्रदेश सरकार र पालिकाको तीन करोड ५० लाख रुपैयाँ लगानीमा उक्त केन्द्र निर्माण गरिएको हो । नगरपालिका भित्रका विपन्न, सीमान्तकृत, लोपोन्मुख, उत्पीडित र ग्रामीण क्षेत्रका महिलालाई सीप सिकाएर व्यावसायिक बनाउने उद्देश्यले भवन निर्माण गरेर सञ्चालनमा ल्याएको नगर उपप्रमुख मीना पोखरेलले जानकारी दिइन् ।

मेचीनगर–८ मा निर्माण भएको भवन नगरकोे गौरवको योजना अन्तर्गत २०७४ देखि भवन निर्माण सुरू भएको तालिम केन्द्र यसपटक सम्पन्न भएर सञ्चालनमा आएको छ । केन्द्रमा ज्येष्ठ नागरिक महिलाहरूलाई पातको दुनाटपरी, लाखबत्ती लगायतका विभिन्न सीपमुलक तालिम प्रदान गरिनेछ । उनले सीप केन्द्रमा महिलाहरूले उत्पादन गरेका सामग्री बजारीकरणमा नगरपालिकाले नै सहकार्य गर्ने बताइन् ।

पुँजी तथा उपकरण वितरण
तालिमपछि महिलाहरू व्यवसायमा लाग्न सकून् भन्ने उद्देश्यले मेचीनगरले बीउ पुँजीको रूपमा नगद अनुदान तथा आवश्यक उपकरण वितरण गर्ने कार्यक्रम सञ्चालन गरेको छ । सिलाई तालिम लिएका महिलालाई सिलाई मेसिन, खाद्य उत्पादनका तालिम लिएकालाई मिक्सर, डिहाइड्रेटर, प्याकेजिङ झोला, स्टिकर लगायत सामग्रीहरू प्रदान गरिएको पाइन्छ । यसले महिलाहरूलाई आफ्नो घरमै बसेर उत्पादन सुरू गर्ने वातावरण सिर्जना गरेको छ, जसले घरको खर्चमा सहयोग पु¥याउनुका साथै उनीहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बन्न प्रेरित गरेको छ ।

महिला अनुकूल नीति निर्माण
वार्षिक बजेट तथा योजना निर्माणमा महिला उद्यमशीलता प्रवद्र्धनलाई प्राथमिकतामा राख्ने नीति अवलम्बन गरिँदै आएको छ । नगरस्तरीय नीति तथा कार्यक्रम महिला अनुकूल बनाउन महिला प्रतिनिधिहरूसँग छलफल गरी निर्माण गरिएको उपप्रमुख पोखरेलले बताइन् ।

मेचीनगरले महिला उद्यमी प्रवर्द्धनमा ऐतिहासिक भूमिका खेलेको छ । सीप विकासदेखि उपकरण उपलब्धता, सहकारी सुदृढीकरणदेखि व्यावसायिक सहजीकरणसम्मका कार्यक्रमले महिला वर्गमा आत्मविश्वास, स्वरोजगार र आर्थिक सशक्तीकरणको भावनाको विकास भएको छ ।

आगामी बजेटमा प्लास्टिकमुक्त नगर निर्माणका लागि ‘एक घर एक झोला’लाई प्राथमिकतामा राखेर ढाकाको तान बुन्ने तालिम साउनदेखि सुरु हुँदैछ । कपडाको झोला बनाउने र कम्तिमा पनि एउटा घरमा एउटा झोला पुर्याउने लक्ष्यका साथ कार्यक्रम अगाडि बढाइएको महिला शाखाकी अधिकृत खरेलले बताइन् ।

व्यवसाय दर्ता र प्रोत्साहन
व्यवसाय दर्ताको प्रक्रियामा महिला उद्यमीलाई प्रोत्साहित गर्न मेचीनगरले सूचना, सहजीकरण तथा छुट सुविधा दिएको छ । महिला नेतृत्वमा सञ्चालित व्यवसायहरूलाई वडास्तरमै दर्ता प्रक्रिया सहज बनाइदिने, वार्षिक कर छुट दिने लगायत व्यवस्था गरिएको छ ।

महिला उद्यमशीलतालाई प्रोत्साहित गर्न नगरपालिका स्तरमा आयोजित मेलामा महिलाहरूलाई प्राथमिकताका साथ स्टल उपलब्ध गराउने, उत्पादनको बजार विस्तारमा सहयोग गर्ने कार्यसमेत गरिएको छ ।

त्यस्तै, आफ्नो उत्पादन नगर क्षेत्रमै मात्र सीमित नराखी बिर्तामोड, दमक, काठमाडौँसम्म पठाउने प्रयास थालेका छन् । यसमा मेचीनगरकै प्रोत्साहन र मेलाहरुको महत्वपूर्ण भूमिका छ । स्थानीय उत्पादनको ब्रान्डिङ र लेबलिङमा पनि नगरले सहयोग गर्दै आएको छ ।

बजारीकरण अभाव
आफूहरूले जानेको सीप प्रयोग गरी तयार पारिएका सामग्रीलगायतका हस्तकलाका सामग्री नबिक्दा झापा मेचीनगरका उद्यमीहरु चिन्तित बनेका छन् । अधिकांश महिला व्यावसायिक सीप तथा तालिमतर्फ आकर्षित भइरहे पनि सीपमार्फत उत्पादित सामग्रीहरूले बजार नपाएपछि लगानी संकटमा पर्ने क्रास बढ्न थालेको छ ।

व्यवसायबाट नै घरखर्च चलाइरहेका महिलाहरु अहिले बिक्रीमा कमि आउँदा समस्या भएको बताउँछन् । मेचीनगरका थुप्रै महिलाहरुले विभिन्न सामग्री निर्माण गरेर आम्दानी गर्दै आएका छन् । पछिल्लो समय बढ्दो आधुनिकतासँगै आफूले तयार गरेका सामग्रीले बजार नपाउँदा भने उनीहरुको व्यवसाय संकटमा परेको हो ।

सोचेअनुसार सामान बिक्री नभएपछि धेरैजनाले व्यवसाय नै परिवर्तन गर्ने अवस्थामा पुगेको झापा मेचीनगर–८ का लक्ष्मी धिमालको भनाइ छ । उनले जसोतसो व्यवसाय चलाइरहेको र मागका आधारमा सामान तयार गर्ने गरेको सुनाउँछिन् ।

तर, मेचीनगर–८ मा निर्माण भएकोे सीप केन्द्रमा महिलाहरूले उत्पादन गरेका सामग्री बजारीकरणमा नगरपालिकाले नै सहकार्य गर्ने भएपछि हौसला मिलेको उद्यमी एवम् तालिम सहजकर्ता निर्मला भण्डारी चौहान बताउँछिन् । केन्द्रमा कोसेली घर निर्माण गरिने र बजारीकरणमा सहयोग पुग्ने उद्यमीहरुले आशा गरेको निर्मला सुनाउँछिन् ।

व्यवसायबाट निराश बनेर व्यवसाय नै परिवर्तन गर्ने सोचमा रहेका उद्यमीहरुमा पनि सीप केन्द्र सञ्चालनमा आएपछि सकारात्मक उर्जा प्राप्त भएको उनले बताइन् ।

यस्ता उदाहरणहरूले स्थानीय सरकारले लक्षित नीति र निरन्तर समर्थन दिन सके, महिला उद्यमशीलताले मुलुकको समग्र आर्थिक विकासमा ठुलो योगदान पुर्‍याउन सक्ने विश्वास गर्न सकिन्छ । मेचीनगरको अनुभवलाई अरू पालिकाहरूले पनि अनुकरण गर्न सक्नेछन् ।

Adv footer