
बिर्तामोड, असार १८ । प्रहरीले भारतीय सीमावर्ती कचनकवल गाउँपालिकाबाट कोकिनसहित दुईजना भारतीय युवालाई पक्राउ गरेको जनाएको छ ।


उनीहरुको साथबाट चोरी गरेर लुकाएको तीन हर्स पावरको पानी तान्ने मोटर पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा किसनगञ्ज जियापोखर गिलाबारी बस्ने २३ वर्षीय मोहमद तौसिफ र दिनाजपुर मजलिसपुर बस्ने २१ वर्षीय प्रवेज आलम रहेका छन् ।


उनीहरुको साथबाट एक ग्राम ८० मिलिग्राम कोकिन बरामद गरिएको छ । उनीहरुलाई झापा ४ स्थित मोजिमिल मियाको जग्गाको आसपासबाट पक्राउ गरिएको हो ।
कचनकवल-४ का मियाको जग्गामा शंकास्पद अवस्थामा भेटिएका उनीहरुमाथि सोधपुछ गर्दा तजेमुल मियाको खेतमा रहेको पानी तान्ने मोटर चोरी गरेको खुलेको थियो ।


पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनहरुलाई इलाका प्रहरी कार्यालय कुमरखोदमा राखिएको छ ।
