
बिर्तामोड, असार १९ । झापाको बिर्तामोडमा जंगली हात्तीको आक्रमणबाट एकजना मानिसको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट बिर्तामोड ७ का ५९ वर्षीय लोकप्रसाद लिम्बूको मृत्यु भएको हो ।


आज बिहान शौचालय जान उठेका फक्ताङलुङ टोलका लिम्बूलाई ०३ः३० बजेतिर हात्तीले आक्रमण गरेको थियो । उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।


यसअघि असार पहिलो साता जंगली हात्तीको आक्रमणबाट मेचीनगर नगरपालिका वडा नम्बर १ दुर्जनचोकका ६८ वर्षीय पूर्णकुमार श्रेष्ठको मृत्यु भएको थियो ।


हात्ती आक्रणबाट गम्भीर घाइते श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको थियो । हात्तको आक्रमणबाट श्रेष्ठको करङ्ग भाचिँएको थियो भने खुट्टाको गोलीगाँठो र मेरुदण्डको हड्डी फुटेको थियो ।
उनलाई असार २ गते हात्तीले आक्रमण गरेको थियो । सो दिन बिहान ५ः४५ बजे श्रेष्ठले ८ सय मिटर टाढा रहेको आफ्नै बारीमा आएको जंगली हात्ती लखेट्ने हुँदा आक्रमणमा परेका थिए ।


यसैत्रीच, गत असार ९ गते हात्तीको आक्रमणबाट भाग्दा बिर्तामोड–८ शुक्रबारे टोलका ५५ वर्षीय सुफल मर्डी गम्भीर घाइते भएका थिए । उनको अनुहारमा चोट लागेको छ ।

त्यस्तै, असार ५ गते भद्रपुर-१० फूलबारी गाउँका २१ वर्षीय विशाल सोरेन पनि हात्तीको आक्रमणबाट घाइते भएका थिए । साँझ अन्दाजी ७ः४५ बजे काम गरेर घर फर्कदै गरेका सोरेनलाई जंगली हात्तीले आक्रमण गरेको थियो ।

हात्ती र सोरेनको बाटोमा जम्काभेट भएको थियो । उनको कम्मर, टाउको र बायाँ खुट्टामा चोट लागेको थियो ।
त्यस्तै, बैशाख २ गते मेचीनगरमा जंगलमा दाउरा खोज्न गएका मेचीनगर-१२ कालिकाका ३२ वर्षीय सन्तोष लिम्बूलाई हात्तीले लखेट्दा भाग्ने क्रममा घाइते भएका थिए ।
बिहान १० बजे कालिझोडा सामुदायिक वनमा दाउरा खोज्न जाने क्रममा जंगली हात्तीको आक्रमणबाट जोगिन खोज्दा घाइते भएका थिए ।