
बिर्तामोड, असार १९ । सात महिनाअघि झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ७ मा ’एक घर एक बत्ती अभियान’ सुरुवात भयो । तर, त्यसबीचमा हात्तीको आक्रमण भने रोकिएको छैन ।


जंगली हात्ती प्रभावित यस वडामा स्थानीयलाई राति हिँडडुल गर्न सहज होस् भन्ने उद्देश्यले ’एक घर एक बत्ती अभियान’ सुरु गरिएको हो । वडाको पूर्वपट्टि घना जंगल रहेकाले वडा नम्बर ७ हात्ती प्रभावित क्षेत्र हो ।


हात्तीबाट बढी प्रभावित रहेका बाह्रघरे, झोलुङ्गे, खालबाडी, सिमसार, पाथिभरा, सिरिजंघा, फक्ताङलुङ लगायतका टोलमा सडक बत्ती जडान गरिएको वडा अध्यक्ष अविरल कृष्ण खरेलले जानकारी दिए ।


उनले यो अभियानलाई प्राथमिकताका साथ अघि बढाइने बताए । सबै ठाउँमा आवश्यकताअनुसार जडान गरिने बताइएको छ । वडामा २४ वटा टोलहरु रहेका छन् ।
नगरपालिकाको सहयोगमा वडा कार्यालयले बत्ती जडान गरेको हो । घरघरबाटै लाइन टाँगेर जडान गरिने हुँदा त्यसको विद्युत महशुल व्यक्तिले नै तिर्नुपर्नेछ ।


टोलटोलमा पुराना जोडिएका बत्तीको मर्मत र नयाँ थप्ने काम भएको थियो । जडान गरिएका बत्तीहरुको खर्च प्रतिएलइडी बल्ब १५ सय देखि ३ हजार रुपैयाँसम्म रहेको वडा अध्यक्ष खरेलले जानकारी दिए ।

बिर्तामोडको-७ नम्बर वडा नगरकै सबैभन्दा बढी हात्ती प्रभावित क्षेत्र हो । सो क्षेत्रमा दैनिकजसो जंगली हात्ती आएर क्षति पुर्याउने गरेको छ ।

सडक बत्ती जडान गरिए पनि आज बिहान फक्ताङलुङ टोलका ५९ वर्षीय लोकप्रसाद लिम्बूको हात्तीले किचेर मृत्यु भएपछि स्थानीयबासीहरु चिन्तित बनेका छन् ।
बिहान शौचालय जान निस्किएका लिम्बूलाई आँगनमै आक्रमण गरेको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।